सुदन गुरुङलाई घाइते जेनजीको चेतावनी : आन्दोलनको लिडर हुँ भन्दै नहिँड्नू


काठमाडौं । जेन–जी आन्दोलनका घाइतेले ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङलाई आन्दोलनको ‘लिडर हुँ’ भन्दै नहिँड्न चेतावनी दिएका छन् । आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाउन गएका घाइतेहरूले आक्रोशित हुँदै सुदनलाई यस्तो चेतावनी दिएका हुन् ।
बिहानै गृहमन्त्री अर्याल भेट्न सिंहदरबारको गेटमा पुगेका घाइतेहरूले प्रवेश गर्न नदिएपछि धर्नामा बसेका थिए । त्यसपछि त्यहाँबाट उनलाई प्रहरीले गाडीमा राखेर गृह मन्त्रालय पुर्याएको थियो । गृह मन्त्रालय पुगिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै घाइतेहरूले सुदन, एमाले नेता महेश बस्नेत र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि आक्रोश पोखेका छन् ।
गृहमन्त्रीलाई ज्ञापनपत्र
जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूले पछि गएर गृहमन्त्री ज्ञापनपत्र बुझाएका हुन् । यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।