दुर्गा प्रसाईको दावी : प्रधानमन्त्रीको अफर आएको थियो, जान्नँ भनें


काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले जेनजी आन्दोलन लगत्तै आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका छन् । जङ्गी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको भेटका सन्दर्भमा आज (मंगलबार) सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका हुन् ।
भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जुन विदेशीहरूको खेलमा सरकार बन्दैछ म जान्नँ भनेको हुँ । अनि मलाई किन चाहियो प्रधानमन्त्री ? मेरो घर छँदै छ, गाडी छँदैछ ।’ उनले देशलाई अप्ठ्यारो पर्दा दुर्गा प्रसाईको अभियान अघि बढ्ने समेत दाबी गरे ।
‘जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, निर्णायक आन्दोलन गर्छौं’
मेडिकल व्यवसायी दुर्गा प्रसाईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको टिप्पणी गरेका छन् । उनले आन्दोलनमा युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् । उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरु जेनजीका बच्चाहरुले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैंले एउटा पोष्ट गरें । यो भष्ट्रचारविरुद्धको आन्दोलन, तस्कर लखेट्ने आन्दोलन भएको कारण म आफैं सरिक हुन्छु भनेर पवित्र मनले स्टाटस लेखें । त्यसको दुई घण्टापछि महानगरका प्रमुख बालेनजीको स्टाटस आयो । कस्तो आयो भने आन्दोलन २८ वर्ष मुनिको हो २८ वर्ष माथिका जानै हुँदैन ।
उनले भने, ‘कुनै राजनीतिक दल पनि जाने होइन, अभियन्ता पनि जाने होइन भनेर लेखेपछि त्यतिखेरै मेरो टिमलाई यो खेल पश्चिमाहरुको खेल हो है भनेको थिए । त्यो अब प्रष्ट भयो । बच्चाहरु उचालेर मर्ने काम हुँदैछ भनेर टिमसँग सल्लाह गरें ।’ उनले आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन हुँदा रमिते मात्रै हुनुप रेको भन्दै आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको बताए ।
‘आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन गरियो । कलिला बच्चाहरुको त्यो आन्दोलनको नेतृत्व गर्ने कोही भएन । हामी रमिते मात्र भयौं । भोलिपल्ट सबै भत्काउन मात्रै लागे । सिंहदरबारमा आगो लगाउन थाले । सर्वोच्च अदालतमा आगो लाग्यो । यो त हुँदै नहुने कुरा भयो । हामी पनि छक्क पर्यौँ ।’ उनले अहिले बनेको सरकार जेनजीको सरकार नभई विभिन्न विदेशी फाउन्डेसनको सरकार रहेको बताए । उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’
प्रसाईले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने धारणा राख्दै दशैँपछि हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्ने बताए । ‘हामी दशैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किराँत, बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ’, पत्रकार सम्मेलनमा उनले भने, ‘पुनस्र्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।’