`

दशैंको रौनक हराउँदै: बजारमा सुस्ती, व्यापारीमा निराशा

Nepal One HD ८ असोज २०८२ १६:२८
फिचर

काठमाडौँ । दशैं सुरु भइसकेको छ। देशभरि चाडपर्वको माहोल देखिन थालेको छ। परम्परागत रूपमा राजधानीका ठूला बजार र मलहरूमा यस समयमा ग्राहकको भीड धान्नै नसक्ने अवस्था हुने गर्थ्यो। तर यसपालि त्यस्तो रौनक देखिँदैन। भीडभाड बढ्नुको सट्टा बजारहरू खुलेको तर सुनसान देखिन्छन्, पसलमा ग्राहकको कमी छ र व्यापारीहरू निराश देखिन्छन्।

“सबैभन्दा न्यून बिक्री”

महाबौद्धको थोक बजारमा २० वर्षदेखि व्यवसाय गर्दै आएकी नबिना प्रधान श्रेष्ठ भन्छिन्,
“मैले अहिलेसम्म गरेको व्यवसायमा अहिले सम्मकै न्यून बिक्री भइरहेको छ। करिब ६०–७० प्रतिशतसम्म घटेको छ। राजनीतिक अस्थिरता, यातायात समस्या र आर्थिक मन्दी सबैले असर पारेका छन्। तर सबैभन्दा ठूलो असर भने चीनसँगको सिमाना बन्द हुँदा परेको हो, किनभने हामी सबैजना चीनकै सामानमा भर पर्छौँ।” नबिनाका अनुसार हाल उनीहरू अघिल्लो वर्षको बाँकी स्टक बेचेरै बसेका छन्।

नयाँ सामान ल्याउने सुविधा नभएकाले बजारमा कपडादेखि अन्य सामानसम्मको अभाव छ।
“ल्यान्ड ट्रान्सपोर्टेशन छैन, समुद्रमार्गबाट ल्याउन सकिँदैन। हवाईमार्गले ल्याउँदा भने सामान अत्यन्तै महँगो पर्छ—करिब ६ डलरसम्म बढ्छ,” उनले बताइन्।

स्थानीय उत्पादनले बचाए पनि प्रतिस्पर्धा गर्न नसक्ने अवस्था

चीनबाट सामान नआएपछि ग्राहकहरू स्थानीय उत्पादनतर्फ धकेलिएका छन्। तर गुणस्तरमा कमी हुँदा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन।
नबिना भन्छिन्, “स्थानीय उत्पादनलाई मानिसहरूले अब्जर्व त गरेका छन्, तर तिनीहरूको फिनिसिङ राम्रो छैन। प्रतिस्पर्धा नै गर्न सक्दैन। विकल्प नभएर मात्र स्थानीय उत्पादनतिर लागेका हुन्।”

“सामानै आएको छैन”

महाबौद्धकै अर्का व्यापारी मनोजकुमार गुप्ता पनि यस्तै चिन्तित छन्।
“अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार एकदमै घटेको छ। चीनसँगको सिमाना बन्द भएपछि सामान नै आएको छैन। कहिले खुल्छ भन्ने थाहा छैन। त्यसैले धेरै गाह्रो भएको छ,” उनले भने।
गुप्ताका अनुसार ग्राहक पनि परिस्थितिलाई बुझेर बजार आउनै छाडेका छन्।
“मानिसहरू नयाँ डिजाइन, नयाँ स्टाइल खोज्छन्। तर हाम्रो हातमा त पुरानै सामान छ। त्यसैले उनीहरूलाई लोभ्याउनै गाह्रो भएको छ,” उनले बताए।

हवाईमार्गबाट आएको थोरै सामान सामान्यभन्दा करिब रु।१५० ले बढी पर्छ। तर त्यो पनि नियमित आपूर्ति हुने कुनै निश्चितता छैन। “सायद जाडो यामसम्म केही आउला, तर दशैंमा त आउने सम्भावना नै देखिँदैन,” उनले थपे।

मलहरूमा पनि सुस्ती

राजधानीका ठूला मलहरूमा पनि परिस्थिति त्यस्तै छ। काठमाडौं मलहरूमा भेटिएका व्यापारी दीपक खनाल भन्छन्,
“यो वर्ष दशैंमा कारोबार धेरै नै कम छ, अघिल्लो वर्षभन्दा झन्डै ५० प्रतिशतले घटेको छ। कारण धेरै छन्—आन्दोलन, युवाहरू विदेश गएका, ग्राहकको क्रयशक्ति घटेको। सप्लाई त खासै समस्या छैन, तर ग्राहक नै कम छन्।”

उनका अनुसार मलभित्र प्रतिस्पर्धा असाध्यै बढेको छ।
“अरू पसलहरूसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको छ। चीनको सामान हवाईमार्गबाट ल्याइए पनि महँगो पर्छ। अहिले दशैंमा सेल्स टार्गेट पुरा गर्ने सबभन्दा गाह्रो वर्ष यही हो,” उनले भने।

सिभिल मलका व्यापारी प्रकाश थापा भन्छन्,
“यहाँ पनि करिब उस्तै हो—कारोबार कम छ। न्भल श् आन्दोलन, ग्राहक विदेश गएका, आर्थिक मन्दी—सबैले असर गरेको छ। चीनको सिमाना बन्द हुँदा खासै फरक परेको छैन, किनभने सामान वैकल्पिक बाटो हुँदै आइरहेको छ। तर मल्ल नै खाली जस्तो देखिन्छ, अघिल्लो वर्षजस्तो चहलपहल छैन।”

बिगत ३० वर्षकै न्यूनतम चहलपहल

राष्ट्रिय व्यापार संघका अध्यक्षले भनेका छन्,
“बिगत ३० वर्षमा यस वर्षकै दशैंमा सबैभन्दा कम मानिसहरूको चहलपहल देखिएको छ।”

परम्परा भत्किँदै

दशैं नेपालीको सबैभन्दा ठूलो चाड भए पनि यस वर्ष राजधानीका प्रमुख बजार र मल्लहरूमा परम्परागत चहलपहल हराएको छ। राजनीतिक अस्थिरता, चीन सिमाना अवरोध, आन्दोलन, युवाहरूको वैदेशिक रोजगारीतर्फको मोह, र आर्थिक मन्दीले गर्दा बजारको उत्साह ओझेल परेको छ।
व्यापारीहरू चेतावनी दिन्छन्—यदि तत्काल आपूर्ति सहज बनाउने र स्थानीय उत्पादनको गुणस्तर सुधार गर्ने नीतिगत पहल भएन भने, दशैंको रौनक केवल स्मृतिमा सीमित हुन सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *