`

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, गाडीको लामो जाम

Nepal One HD १० असोज २०८२ ६:४२
समाज

काठमाडौँ । मंगलबारदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै गए राति साढे १० बजेदेखि सडक सञ्चालनमा आएको हो ।

सडक सञ्चालन भएसँगै रोकिएका सयौँ गाडी गन्तव्यतर्फ लागेका छन् । रोकिएका गाडी आलोपालो सञ्चालन भइरहेकाले लामो जाम भएको छ। यसअघि पनि पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन र लेन अनुशासनको पालना गर्न प्रहरीले आग्रह गरेको छ ।

मुग्लिन–नारायणगढ सडक हुँदै दैनिक १० हजार बढी गाडी गुड्ने गर्छन् । काठमाडौँ ओहोरदोहोर गर्ने अरू मुख्य सडकहरुमा यतिबेला निर्वाध रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार राति साढे १० बजे पहिरो पन्छाउने काम सकिए लगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो ।

पहिरो पन्छाउने काम बुधबार (हिजो) बिहानबाट मात्र थालिएको थियो । बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि फ्लडलाइट बालेर काम गरिएको थियो । यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।

सडकमा सवारी साधनहरूको लामो जाम लागेकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ । काठमाडौं जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा यात्रुले निकै सास्ती बेहोरे । अझ नेपालीहरूको महान चाड दशैंका बेला सडक अवरुद्ध हुँदा गन्तब्यतर्फ प्रस्थान गरेका यात्रु सडकमै अलपत्र भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *