जेनजीलाई सुदन गुरुङको अपिल : हिंसा र कसैको घरलाई निशाना बनाउनु समाधान होइन


काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले जेनजी पुस्तालाई हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएकाले त्यसो नगर्न अपिल गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज आफू बसेको घरलाई निशाना बनाएको अभिव्यक्ति दिएपछि संयोजक गुरुङले कसैको घरलाई निशाना बनाउनु समस्याको समाधान भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ । तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन । यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठुलो क्षति पुर्याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन् ।’
उनले निर्वाचनको मिति तोकिएकाले त्यो नै आफूहरूको शक्ति, एकता र दृष्टि देखाउने अवसर भएको बताएका छन् । उनले भनेका छन्, ‘शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौं । हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन । निर्माणको हो, विनाशको होइन । सम्पूर्ण देशलाई देखाऔं कि जेन जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ ।’ उनले सबैलाई शान्त र दृढ रहन समेत अपिल गरेका छन् ।