`

सल्यान दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

Nepal One HD १२ असोज २०८२ ९:२६
प्रमुख खबर

सल्यान । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान भएको गाडी दुर्घटनामा मृत्यु भएका सबै तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन् ।

पबी केसीको पहिचान उनको साथमा रहेको नागरिकताको आधारमा गरेको र शशीधरको पहिचान गाउँपालिका अध्यक्ष टेकबहादुर बाँठाले गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बाफीकोट गाउँपालिका–५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।

राति १० बजेको समयमा प्रहरी चौकी कपुरकोट सल्यानको चेकपोइन्टमा इन्ट्री गरेको विवरण अनुसार गाडीमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार थिए । दुर्घटनास्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक गोपाल वहादुर वलीको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली परिचालित भएको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक वीरेन्द्र राज गुरुङको कमाण्डमा थप ९ जनाको टोली खटिएको थियो । घटनास्थल प्रहरी चौकी कपुरकोटबाट अन्दाजी ६ किलोमिटर दक्षिणतर्फ र इलाका प्रहरी कार्यालय लुहामबाट करिब २६ किलोमिटर पूर्व पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *