गभर्नर पौडेलका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि भाडाको घर खोजेको छ । भदौ २४ गते जेन जी आन्दोलनका क्रममा भैंसेपाटीस्थित निजी निवास जलाइएपछि उनका लागि बैंकले निवास भाडामा लिन खोजेको हो।
बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले उक्त कार्यका लागि आज घर भाडासम्बन्धी प्रस्ताव आह्वान गरेको छ । गभर्नरको आवासका लागि भनिएको सूचनामा ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्म १ रोपनीदेखि डेढ रोपनी सम्मको घर खोजिएको हो ।
६ वटा गाडी पार्किङ गर्न मिल्ने, सुरक्षा गार्ड बस्ने घर हुनुपर्ने, चार वटा बेडरुमसहित सबै सुविधा भएको साढे २ तलादेखि तीन तलासम्मको घर खोजिएको छ । असोज २७ गतेसम्म घर भाडामा दिन चाहनेले बैंकमा प्रस्ताव प्रस्तुत गर्नुपर्ने छ । गत जेठ ६ गते गभर्नर नियुक्त पौडेलको यसअघि भैंसेपाटीमा पाँच आना जग्गामा बनेको साढे २ तलाको घर थियो ।
कम्पाउण्डमा पार्किङका लागि पर्याप्त जग्गा नभएको जनाउँदै बैंकले गत असारदेखि नजिकै ६ आना जग्गा गार्ड र गाडीको लागि भाडामा लिएको थियो । यसअघि डा. चिरञ्जीवी नेपालको लागि पनि बैंंकले पाँच वर्ष महाराजगञ्जमा घर भाडामा लिएको थियो । नेपालको पनि कुसुन्तीमा रहेको घर सानो भएको जनाउँदै बैंकले निवासको प्रबन्ध गरेको थियो । यसरी लिइएको घरभाडादेखि, भित्रको सबै खर्च बैंकले तिर्ने गर्छ ।