शीर्ष नेताको बिदाइ र जेन एक्सको मेन्टरिङ नै अबको बाटो : विन्दा पाण्डे


काठमाडौं । नेकपा (एमाले) की पोलिटब्युरो सदस्य विन्दा पाण्डेले प्रमुख तीन दलका शीर्ष नेताले राजनीतिबाट बिदा लिनुपर्ने धारणा राखेकी छन् । जेन–जी आन्दोलनको आक्रोश प्रमुख दलप्रति रहेको भन्दै त्यसको समीक्षा गरी नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने बताएकी हुन् ।
उनले पहिलो पुस्ताका नेतासँगै दोस्रो तहका नेताहरूको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । उनले पहिलो पुस्ताको बिदाइ, जेन–वाई र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भूमिका स्थापित हुनुपर्ने तर्क गरेकी छन् ।
‘जेन–जी आन्दोलनले उठान गरेका विषय र उनीहरूको भावना बुझ्न हरेकले आफ्नो परिवार÷आफन्त र छिमेकका त्यही समूहका युवाहरूको कुरा धैर्यपूर्वक सुने मात्र पनि पुग्छ । यस सन्दर्भमा राजनीतिक नेतृत्व सबैभन्दा बढी विवेकी बन्नु आजको आवश्यकता हो,’ उनले भनेकी छन्, ‘ठूला दलका शीर्ष नेताप्रति उनीहरूको आक्रोशको समीक्षा गरी बाटो प्रशस्त पहिलो कदम हुनेछ । बाँकी नेतृत्वले पनि आफूआफू संलग्न पद र संस्थाको गहन समीक्षा गरेर नीति, विधि, नेतृत्वको रूपान्तरणसहीत आम नागरिकबीच सहज स्वीकार्य बन्ने काममा ढिलाइ गर्नु हुँदैन ।’
त्यस्तै उनले सुशासनका बाधकहरूको पहिचान गर्दै आवश्यक कारवाहीको निरन्तर प्रक्रिया नै आम रूपमा लिनु पर्ने बाटो भएको औंल्याएकी छन् । ‘यसका लागि, पहिलो पुस्ताको बिदाइ अनि जेन–वाइ र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भूमिका स्थापित गर्दै अगाडि बढ्ने विषय अबको कामको केन्द्रविन्दु बन्नु जरुरी छ । युवाहरूको बुझाइ परिपक्व छ भन्ने कुरा देखाइसके । जिम्मेवारीमा सक्षम र कुशल बनाउने काम हाम्रो पुस्ताको पनि हो,’ उनले भनेकी छन् ।