राष्ट्रपतिसँग वार्ता गर्न जेनजीले बनायो समिति, को–को छन् सदस्य ?


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै जेनजीहरुले वार्ता टोली बनाएका छन् । समितिमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू, योग्यता भण्डारी, कासिबमोहम्मद मिया, जेम्स कार्की, अर्पित कुँवर, दीपकजंग अधिकारी, अभिषेक श्रेष्ठ छन् ।
वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख छ तर उनको हस्ताक्षर छैन । अरु तीन जना भने घाइते र शहीद परिवारका सदस्य रहने जनाइएको छ । वार्ताका लागि ६ बुँदो एजेन्डाहरु राखिएको छ ।
दोस्रो बुँदामा भनिएको छ, ‘आन्दोलनकर्तालाई अभियोजन नगर्ने गरी उचित सुरक्षा प्रदान गर्ने, राज्यका निकाय र राजनीतिक दलहरुद्वारा गरिएका, गराइएका तथा हुनसक्ने आक्रमणहरूबाट यथाशक्य सुरक्षा प्रदान गर्ने र राज्यका तर्फबाट भएका गैरन्यायिक हत्या लगायत अन्य मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धान गर्नका लागि एउटा स्वतन्त्र, निष्पक्ष र सक्षम अधिकार सम्पन्न आयोगको गठन गर्ने ।’
अनुसन्धानको आयोग बनाइँदा जेनजी प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्ने, अन्तरिम सरकारलाई वैधानिकता प्रदान गर्ने र संसद विघटनको निर्णयलाई स्वीकार गर्ने बताइएको छ । हालसम्म सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुको सम्पत्तिको छानबिनदेखि न्यायापालिकालाई स्वतन्त्र र सक्षम बनाउनेसम्मका माग छन् ।
छैटौं बुँदामा भनिएको छ, ‘आगामी र तत्पश्चात हुने आम निर्वाचनबाट चयन हुने कार्यकारी प्रमुख (प्रधानमन्त्री र मुख्यमन्त्री) को निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमार्फत गरिने व्यवस्था गर्ने ।’ प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावमा रक्षा बमको सहमति छैन । उनले अन्तरवार्ताहरुमा यो व्यवस्था नेपालका लागि उचित नहुने बताइरहेकी छन् । उनीबाहेक अन्य केही सदस्यहरु पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा नरहेको दावी गरिएको छ ।