`

पाँचथरमा बोलेरो दुर्घटना : चार जनाको उद्धार

Nepal One HD १८ असोज २०८२ १३:३८
प्रमुख खबर

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सीमानास्थित कात्तिके डाँडामा भएको बोलेरो जीप दुर्घटनास्थलबाट चार जनालाई उद्धार गरिएको छ । स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएका छन् ।

अहिलेसम्म मानवीय क्षतिको जानकारी नआएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाएका छन् । ‘अहिलेसम्म चार जना घाइतेलाई उपचारका लागि धरानतर्फ पठाइएको छ,’ प्रजिअ पोखरेलले भने, ‘दुर्घटनास्थलबाट धरान नै नजिक पर्छ ।’

उनका अनुसार सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई पनि घटनास्थल पठाइएको छ । आफू पनि त्यतै जान लागेको उनले बताए । धरान जाँदै गर्दा बोलेरो जीप दुर्घटनामा परेको जानकारी आएको र प्रहरी पुगेपछि विस्तृत विवरण थाहा हुने उनले बताए । घटनास्थलमा पानी परिरहेको स्थानीय पत्रकार रमेश थापाले बताएका छन् ।

यसअघि दुर्घटना स्थलनजिकै रहेको भन्दै सागर ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमर्जेन्सी परेको छ, मभन्दा अगाडिको गाडी खसेर धेरैको ज्यान गएको छ । सबैले सकेको छिटो हेलिकोप्टर एम्बुलेन्स वा गाडीहरू छिटोभन्दा छिटो पठाइदिनुस् न है ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *