जेनजी आन्दोलनका सबै शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी समूहको घोषणा


काठमाडौं । जेनजी आन्दोलनमा ठूलो भौतिक क्षति व्यहोरेका चौधरी समूह (सीजी) ग्रुपले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । यो आफूहरूको बाचा मात्र नभएर गहिरो कर्तव्य र श्रद्धा भएको उनले बताएका छन् ।
यसका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न पनि सीजीले अनुरोध गरेको छ । ‘आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछौँ । उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ । यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माणको यात्रामा अघि बढेका छौँ’, उनले भनेका छन् ।
निर्वाणले भनेका छन्, ‘हामी सँगै उभिनेछौँ, पुनर्निर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ ।’ निर्वाणले यसअघि आन्दोलनकारीले निवासदेखि उद्योग, शोरुमसम्म गरिएको लुटपाट, तोडफोड र आगजनी गरेपनि आफूहरूको सपना जिउँदै रहेको भन्दै उच्च मनोबल देखाएका थिए ।
हेर्नुस् भिडियो