राष्ट्रपतिसँगको छलफलमा २० बढी जेनजी प्रतिनिधि सहभागी हुँदै


काठमाडौं । हिजो (शुक्रबार) सर्वदलीय बैठक गरेका राष्ट्रपति रामचन्द्र पौडेलले आज (शनिबार) सरकार र जेनजी प्रतिनिधिसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिएको जानकारीअनुसार अहिले बिहान १० बजे शीतल निवासमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने भएका हुन् ।
‘आज राष्ट्रपति ज्यूले सरकार र जेनजीका प्रतिनिधिसँग छलफल गर्दै हुनुहुन्छ’, ती अधिकारीले भने । छलफलमा सुदन गुरुङलगायत जेनजीका विभिन्न समूहका प्रतिनिधि सहभागी हुनेछन् । छलफल तय हुँदा जेनजीको तर्फबाट १७ जना सहभागी हुने बताइएको थियो । तर, बैठक सुरु हुनुभन्दा अगाडि यो संख्या बढेको जनाइएको छ ।
एक जेनजी अगुवाका अुनसार हालसम्म बैठकमा सहभागी हुनेको संख्या २२ पुगेको छ । आजको बैठकमा जेनजीका मागका सम्बन्धमा छलफल हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीकै प्रतिनिधित्व गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयार भइरहेका बेला बैठक बस्न लागेको हो ।