`

शीतलनिवास अगाडि जेनजी युवाको नाराबाजी, राष्ट्रपतिसँगको वार्तामा प्रवेश नपाएको गुनासो

Nepal One HD २५ असोज २०८२ ११:१७
प्रमुख खबर

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि जेनजी युवाहरुले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोली मात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोधमा नाराबाजी गरेका हुन् । अहिले ठूलो संख्यामा युवाहरु शीतल निवास अगाडि जम्मा भएर आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरिरहेका छन् ।

प्रहरी उनीहरुलाई सम्झाउने प्रयासमा छ । मन्त्रीपरिषद विस्तार र सरकार सञ्चालनका विषयमा राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगूवाहरूबीच अहिले बैठक बस्न लागेको हो । शीतल निवासमा बैठकका लागि बोलाइएको जेनजी अगूवा मिराज ढुंगानाले बताए ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषदलाई पूर्णता दिने प्रयासका क्रममा जेनजीसँग छलफल गर्न लागेकी हुन् । बैठकमा जेनजीबाट ढुंगानाको समूह, सुधन गुरूङको समूह लगायत सहभागी हुने छन् । जेनजीबाट चारजना मन्त्री बनाउन लागिएको भन्दे हिजो अचानक नाम सार्वजनिक भएपछि ढुंगाना समूह आक्रोशित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *