`

राष्ट्रियसभामा ‘जेनजी’ को प्रतिनिधित्व गराउने विषयमा प्रधानमन्त्रीको चासो

Nepal One HD २७ असोज २०८२ १३:१७
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभामा ‘जेनजी’ को प्रतिनिधित्व गराउने विषयमा चासो राखेकी छन् । आइतबार (असोज २६) उनले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा यस्तो जिज्ञासा राखेकी हुन् । प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभामा जेनजीका विषयमा पनि छलफल भएको अध्यक्ष दाहालले बताएका छन् । राष्ट्रियसभामा आउँदो फागुन २१ गतेदेखि १८ सदस्यको पदावधि सकिँदै छ । रिक्त पदमा निर्वाचन गराउने विषयमा उनले प्रधानमन्त्री कार्कीसँग परामर्श गरेका थिए ।

त्यस सन्दर्भमा जल्दोबल्दो शक्तिका रूपमा उदाएको जेनजीलाई पनि समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेकी थिइन् । अध्यक्ष दाहालले राष्ट्रियसभा सदस्यको चुनाव आउँदो माघ ११ गते गर्ने निर्वाचन आयोगको कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत रहेको पनि बताए । राष्ट्रिय सभामा आगामी फागुन २१ गतेबाट १८ जना सदस्यको पदावधि सकिँदैछ । रिक्त पदमा निर्वाचन गराउने विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग परामर्श गरेका हुन् । त्यसक्रममा कार्कीले जेनजीको प्रतिनिधित्वको विषयमा चासो राखेको अध्यक्ष दाहालले बताए ।

‘छलफलमा जल्दोबल्दो शक्तिको रूपमा उदाएको जेनजीलाई पनि राष्ट्रियसभामा समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभयो,’ अध्यक्ष दाहालले भने, ‘राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्वाचन आयोगको कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत देखिनु भएको छ ।’

‘फागुन २० गते राष्ट्रिय सभाका १८ सदस्यको पदावधि सकिन्छ । त्यसको लागि निर्वाचन गर्ने विषयमा छलफल भयो । दुई दिन अगाडि मैले निर्वाचन आयुक्तसँग पनि यस विषयमा छलफल गरेको थिएँ,’ दाहालले भने, ‘निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्ने भनेर डिसिजन गरिसकेको छ । उनीहरुले आफ्नो कार्यतालिकामा राष्ट्रिय सभाको निर्वाचनलाई पनि राखिसकेका छन् ।’

अब सरकारसँग समन्वय गरेर अघि बढ्ने विषयमा प्रधानमन्त्री कार्कीसँग छलफल भएको उनले बताए । ‘उहाँसँग जेनजीको प्रतिनिधित्व गर्ने सन्दर्भमा पनि कुरा भयो,’ दाहालले भने, ‘जेनजीको पनि जल्दोबल्दो कुरा छ । अब भोट हाल्ने स्थानीय तहका प्रमुख र उपप्रमुख अनि प्रदेश सभाका माननीयहरूले हाे। राजनीतिक सहमति गर्न सकियो भने हुन्छ भन्नेसम्मको सुझाव मैले दिएको छु । त्यसका लागि सरकारले राजनीतिक सहमती गर्नुप¥यो दलहरुसँग। किनभने भोटर नै चेन्ज गर्न त सकिँदैन ।’ प्रधानमन्त्री कार्की राष्ट्रिय सभालाई छठपछि सञ्चालन गर्ने विषयमा सकारात्मक रहेको उनले बताए ।

‘सिंहदरबारस्थित संसद सचिवालयको कृषि समितिको हललाई राष्ट्रिय सभाको बैठक कक्ष बनाउन सकिने प्रस्ताव मैले राखेको छु,’ उनले भने, ‘त्यो तयारी अघि बढाउने विषयमा पनि मुख्य सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ ।’ राष्ट्रिय सभालाई कसरी सञ्चालन कसरी गर्ने भन्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको दाहालले बताए ।

‘राष्ट्रिय सभा एउटा वैधानिक संस्था, जसले ऐन, कानून लगायतका अरु विषय अथवा जनताको सवाल बोल्ने गर्छ । यो सभालाई व्यवस्थित गरेर लैजानुपर्छ भन्नेमा उहाँ (प्रधानमन्त्री) हुनुहुन्छ,’ दाहालले भने । उनले सरकारले चाह्यो भने राष्ट्रिय सभाले संवैधानिक प्रक्रियाभित्र रहेर गर्ने सहयोग गर्न आफूहरू तयार रहेको बताए । ‘सरकारले चाह्यो भने कुनै पनि प्रकारको कानूनी प्रक्रिया, संवैधानिक ढंगले अघि बढ्ने कुरा, संविधानको दायराभित्र रहेर गर्ने कुरामा हामी तयार छौँ,’ उनले भने । अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसमक्ष सभाका उपाध्यक्ष विमला घिमिरेलाई निवासको उचित व्यवस्था गरिदिन पनि आग्रह गरेको बताए । जेनजी आन्दोलनको क्रममा उपाध्यक्ष घिमिरेको सरकारी निवास पनि आगजनी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *