पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक


काठमाडौँ, २७ असोजः नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण तथ्याङ्क, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ । यो ‘प्लेटफर्म’ले नीति निर्माता, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पु-याउने जनाइएको छ ।
‘पर्यटनको वर्तमान स्थिति र पुनरोत्थानका रणनीति’ विषयक एक कार्यक्रमबीच विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित आइतबार काठमाडौँमा आयोजित ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा सो डिजिटल प्रकाशन सार्वजनिक गरिएको हो । बोर्डका अनुसन्धान विभाग अधिकृत कविन्द्र भट्टका अनुसार, प्रकाशनमा आगन्तुक सङ्ख्या, मुख्य स्रोत बजार, क्षेत्रगत आगमन, विदेशी मुद्रा आय र प्रत्यक्ष विदेशी लगानीका तथ्याङ्क समेटिएका छन् । साथै, संयुक्त राष्ट्र पर्यटन सङ्गठन र विश्व यात्रा तथा पर्यटन परिषद्जस्ता अन्तरराष्ट्रिय निकायका तथ्याङ्क र प्रवृत्ति पनि समावेश गरिएको छ ।
कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्डको प्रकाशनले नेपालको पर्यटन क्षेत्रलाई दिगो विकासतर्फ लैजान आवश्यक तथ्याङ्क र रणनीतिक दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । प्यासिफिक एशिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरका महासचिवसमेत रहनुभएका बोर्ड सदस्य नरेन्द्र देव भट्टले सङ्कटको समयमा दीर्घकालीन रणनीति निर्माण गरी पर्यटन क्षेत्रलाई कमजोर हुन नदिन पहल थाल्नुपर्नेमा जोड दिनुभयो ।
साथै होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले होटल क्षेत्रको समस्या औँल्याउँदै सामूहिक प्रयासका आवश्यकता औँल्याउनुभयो ।