मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सदनबाटै राजीनामा घोषणा गरेका छन् । विश्वासको मत लिन आज सांसद बैठक बोलाइएको थियो । सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा राजीनामा घोषणा गरेका हुन् । जेन–जी आन्दोलनको क्रममा २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा दिएका मुख्यमन्त्री सिंहले आज प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंह नेतृत्वको सरकार आफ्नै पार्टी जनमत र सत्ता सहयोगी दल नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो । पार्टीले पटक–पटक राजीनामा दिन दबाब दिए पनि मुख्यमन्त्री सिंहले संघीयता र संविधानको रक्षाको लागि आफूले त्यतिबेला राजीनामा नदिएको बताउने गरेका थिए ।
पदबाट राजीनामा घोषणा गर्नुअघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामा प्रकरणबारे कडा रुपमा संकेत गरेका छन् । उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति पनि कडा टिप्पणी गरे । बजेट बनाउने बेला ५ लाखसम्मको समेत बजेट राख्दा यस विषयमा पार्टी केन्द्रीय अध्यक्ष डा. सीके राउतलाई गुनासो गर्दा समेत उनले बजेट राख्नेलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
