भदौ २४ को घटना सुनियोजित भन्दै २३ को घटना छानविन गर्न एमालेको माग


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २३ गते संसद भवन अगाडि गोलीकाण्ड घटना भइसकेपछि मात्रै आफूले थाहा पाएको बताएका छन् । उनले गोली चलाउने आदेश कानुनत अधिकार प्राप्त संस्था वा अधिकारीले मात्रै दिन सक्ने र प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट रहेको पनि बताए ।
‘भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटेपछि थाहा भएको हो । दंगा नियन्त्रणका अन्य वैकल्पिक उपाय अवलम्बन नै नगरी किन त्यति ठूलो मात्रामा गोली चल्यो ? एकसाथ करिब दुई दर्जन युवाहरूको हत्या भयो ? किन सयौंको संख्यामा घाइते बनाइयो ? २४ गतेको विध्वंश केका लागि ? २३ र २४ गतेका घटनाहरूको अन्तरसम्बन्धको विश्लेषण हुनैपर्छ,’ उनले दशौं केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ । भदौ २३ गतेको घटनापछि मन्त्रिपरिषदको बैठक बसेको र बैठकले उक्त घटनाका सम्बन्धमा दुःख व्यक्त गरेको पनि उनले बताए ।
‘घाइतेका निःशुल्क उपचारका निम्ति निर्णय गरेको छ । मृतक र घाइतेका परिवारलाई राहत र क्षतिपूर्तिका लागि निर्णय गरेको छ । घटनाको सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउने र त्यस आयोगको सिफारिसमा दोषी उपर कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ । यथार्थ यस्तो हुँदाहुँदै पनि तत्कालीन प्रधानमन्त्री विरूद्ध नियोजित रूपमा चलाइएका निराधार र आपराधिक प्रचारलाई एमाले कडा प्रतिवाद र खारेज गर्छ,’ ओलीले भनेका छन् ।