सरकारले अर्को आन्दोलनको बीजारोपण गरिरहेको छ : ओली
काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाएका छन् । बुधवार जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्नहरुलाई कारबाही नगरेर मुलुकमा अर्को आन्दोलनको बीजारोपण गरिरहेको उनको आरोप छ । उनले सरकारले आन्दोलनका पीडितहरुलाई न्याय दिलाउनुको सट्टा दुश्मनी साँधिरहेको आरोप लगाए । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ ।
उनले भने, ‘आन्दोलनको क्रममा लुटपाट गर्नेहरु वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन । यस्तो अपराधिक क्रियाकलपमा सलंग्नहरु विदेशका नभई यँही वरपरका थिए । अहिले पक्राउ गर्न सरकार तयार छैन । झन पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । उनीहरु कालान्तरसम्म पक्राउ होलान् । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन । सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रलीले हिजो टेलिभिजनमा दिएको अन्तरवार्तामा बोलेको कुरामा देखिन्छ । दुःख परेकामाथि उहाँको दुश्मनी देखिन्छ । त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुश्मनी छ । सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ । जेन–जी आन्दोलनकारीबाट आफैंमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत छ ।’ जेन–जी पुस्ताका अगुवाहरुमार्फत आफैंमाथि दबाब बढाएर आफूसहितका नेताहरुलाई पक्राउ गर्ने मनशाय सरकारमा रहेको उनको आशंका छ ।
‘यो आन्दोलन होइन, षड्यन्त्र हो’
अध्यक्ष ओलीले जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकन गरेका छन् । बुधवार बिहान पत्नी राधिका शाक्यसहित अध्यक्ष ओलीले आवासको निरीक्षण गरेका हुन् । निजी निवास निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेन–जी आन्दोलनको क्रममा भएको आगजनी तथा लुटापाटको घटना नेपालविरुद्धको योजनावद्ध षड्यन्त्र भएको टिप्पणी गरे । उनले यो घटना असोज २३ गतेको मात्र नभई पहिलेदेखिको एमालेमाथिको योजनाबद्ध तार्गेटिङको परिणाम भएको दाबी पनि गरे ।
उनले आन्दोलनको क्रममा भएको आगजनी, लुटपाट र चोरीको घटनाप्रति गम्भीर शंका व्यक्त गर्दै पीडितमाथि सरकारले सहानुभूति व्यक्त गर्नुको सट्टा दुस्मनी साँधिरहेको आरोप पनि लगाए । उनले निवासबाट चोरिएका सामानहरूको विवरण दिँदै आश्चर्य व्यक्त गरे । उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विद्यार्थीहरूले सुरु गरेको सकारात्मक अभियानको फाइदा उठाउँदै अपराधिक समूहहरुले फाइदा उठाएको जिकिर गरे । उनले जेन–जी आन्दोलनपछि गठन गरिएको अन्तरिम सरकारको भूमिका समेत शंकास्पद रहेको आरोप लगाए । उनले तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्ने नभई पीडितहरुलाई नै दुःख दिने काम सरकारले गरिरहेको उनको आरोप छ ।
उनले भने, ‘मैले धेरै कुरा बोल्नु पर्दैन । तस्बिर आफैं बोल्छ । केही टनका फलामका मुर्ति समेत थिए । कसरी लगे भनेर आश्चर्य लागेको छ । शिव, सरस्वतीको मुर्ति चोरिएको छ । एक जनाले सक्दैन गाडीमै चोरी भएको छ । उनीहरुले काम लाग्ने कुरा चोरेर लगे काम नलाग्ने कुरामा आगजनी गरेर गए । नभए त मेटलको सामान पग्लिएर बस्नुपर्ने हो । केही अघिदेखि नै यहाँ तार्गेट गर्ने गरेका थिए । केही अपराधिक समूहहरु समय समयमा आउने गरेका थिए । यहाँ मात्र होइन सबैतिर एमाले पार्टी कार्यालय र नेताका घरहरु जलाइएको छ ।’
उनले थपे, ‘यो २३ गतेको घटना मात्र होइन पहिलेदेखि नै एमालेमाथि तार्गेट गरिएको थियो । यसअघि चैत १५ मा पनि प्रयास गरिएको थियो । त्यो बेला सफल भएन । यस पटक उनीहरु सफल हुने स्थिति बन्यो । यो नेपालका विरुद्ध गम्भीर षड्यन्त्र हो । शान्ती क्षेत्र भनिएका विद्यालय जलाइए । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम होस् भनेर विद्यार्थीहरु मैदानमा उत्रिए । उनीहरुलाई प्रयोग गरेर योजनावद्ध ढंगले विध्वंस पारियो । लुटपात गर्नेहरु विदेशका नभई यतै कतैका थिए । उनीहरु कालान्तरसम्म पक्राउ होलान् । अहिले पक्राउ गर्न सरकार तयार छैन । सरकार भ्रष्टाचार नियन्त्रणमा छैन ।’
