गायक बाबुल गिरीविरुद्ध जाहरी लिएर प्रहरी कार्यालयमा नितुको परिवार
काठमाडौं । गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । नितुका दाइ गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर अहिले प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् । गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका छन् । विगत ८–९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुई जना मात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको दाबी उनको छ ।
यस्तै गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भए लगत्तै गायक गिरी प्रहरीको सम्पर्कमा पुगेका छन् । गायिका पौडेलको मृत्यु लगत्तै गायक तथा संगीतकार गिरी जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका हुन् । गत शनिबार अनामनगरस्थित गायक बाबुल गिरीको स्टुडियोमा आफैले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका पौडेलको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटल’ मा निधन भएपछि उनी प्रहरी सम्पर्कमा पुगेका हुन् । कात्तिक १ गते स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेको बताइन्छ ।
यो स्टुडियो गायक बाबुल गिरीको हो । उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । यो विषय अनुसन्धानकै क्रममा रहेको बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताएका छन् ।
