सामाजिक सुरक्षा कोषमा ९३ अर्ब, २५ लाख बढी श्रमिक आबद्ध
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ । कोषमा आबद्ध हुने योगदानकर्ता र रोजगारदाताको संख्यामा उल्लेख्य वृद्धि भएको कोषले जनाएको छ । हालसम्म २२ हजार ७६ रोजगारदाता संस्थाहरू कोषमा आबद्ध भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९ सय ४६ नयाँ श्रमिक सूचिकृत भएका थिए ।
कोषमा औपचारिक क्षेत्रका ६ लाख ४० हजार श्रमिक आबद्ध छन् भने अनौपचारिक क्षेत्रका ७९४ श्रमिक मात्र सहभागी छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकहरू १९ लाख ३४ हजारभन्दा बढी आबद्ध भएका छन् । सरकारको बाध्यात्मक व्यवस्थाका कारण उनीहरू प्रक्रिया पु¥याउन कोषमा जोडिए पनि नियमित योगदान भने कम हुने गरेको छ । कोषले अहिलेसम्म योगदानकर्ताबाट ९३ अर्ब रुपैयाँ सङ्कलन गरिसकेको छ ।
यो रकम धेरैजसो बैंकमा राखेर ब्याज लिइएको छ । सामाजिक सुरक्षा ऐनअनुसार यो रकम उत्पादनशील क्षेत्रमा लगाउनु पथ्र्यो । कोषका प्रवक्ता कृष्ण अधिकारीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन १०७ स्वास्थ्य संस्थासँग समन्वय गरिएको र स्वचालित सेवा प्रणाली जडान गरिएको बताए । उनले अब योगदानकर्ताको परिवारमा समेत स्वास्थ्य सेवा विस्तार भएको र अस्पतालमा भर्ना भएर गरिने उपचारमा १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा लागू गरिएको जानकारी दिए । कोषमा जम्मा भएको रकमलाई सही ठाउँमा परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
