सरकारले दमन गर्यो, अब हामी त्यसै छोड्दैनौं : जेनजी प्रतिनिधि
काठमाडौँ । जेनजी प्रतिनिधिहरूले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । आज (शनिबार) माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका जेनजी प्रतिनिधिहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारविरुद्ध खनिएका हुन् । शनिवार अपराह्न उनीहरूले पत्रकार सम्मेलन गरी जेनजीहरुलाई एकताबद्ध गराउने अभियानमा जुटेकाहरूलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।
सरकारले शान्तिपूर्ण रूपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरूको रिहाई तत्काल नभए कडा कदम चाल्न आफूहरू बाध्य हुने जेनजी प्रतिनिधि मञ्जना राईले बताइन् । उनले जेनजीले बनाएको सरकारले उनीहरूको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरिन्।
राईले भनिन्, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ । हामी पछि हट्ने छैनौँ यही चेतावनी दिन चाहन्छौँ । थुनिएका साथीहरू रिहाई नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौँ ।’ जेनजी प्रतिनिधिहरूले सरकारले आफूहरूमाथि दमन गरेको भन्दै सैह्य नहुने चेतावनी समेत दिएका छन् । भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरुद्ध लाग्न पनि सबैलाई आह्वान गरे ।
उनले भने ‘हामीलाई युनिफाईड पनि हुन नदिने । यो कस्तो सरकार हो ? युनिफिकेशनको क्याम्पियन पनि रोक्नुपर्ने ? अब अहँ हुँदैन । जे जे गर्नुपर्छ, हाम्रो मागहरू छिटो पूरा हुनुपर्छ । सरकारले केही गर्दैन, हाम्रो साथीहरूलाई यसरी दमन गरिन्छ भने हामी सहँदैनौँ । अझ कहाँ कहाँ जाने हो, गर्ने हो । त्यही भएर आज हामी यही गर्दैछौं हाम्रो युनिफिकेशन क्याम्पियन जबसम्म पूरा हुँदैन, जे जे गर्नुपर्छ लाग्ने हो । सबैले आफ्नो सबै कुरा छोडेर युनिफाईड हुनुपर्छ देशका लागि ।’
जेनजी आन्दोलनले बनाएको सरकारले उनीहरूमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाई थियो । उनले आफूहरूको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको समेत बताए ।
