मन्त्री घिसिङद्वारा निर्माणाधिन संसद भवनको निरीक्षण
काठमाडौँ । शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधिन संसद भवन निरीक्षण गरेका छन।

शनिवार सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन् । आगामी निर्वाचन फागुन २१ मा हुँदैछ । फागुन २१ मा निर्वाचन भइ प्रतिनिधि सभा सदस्यहरुले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तिब्र बनाउन निर्देशन दिइएको छ ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद भवन जेन-जी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनिसञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । नयाँ संसद भवन छिटो भन्दा छिटो सञ्चालन गर्न नसके असर धेरै पर्ने स्थिति रहेको उनको भनाई छ ।

पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भनेपनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको उनले बताए । मन्त्री घिसिङले हरेक दिनको सेड्युल बनाएर काम गर्न तथा दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । जस्का लागी मन्त्ती घिसिङले दुई दिनभित्र सेड्युल पेश गर्न र त्यही अनुसार काम गर्न निर्देशन दिए ।

साथै निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने उनको जिकिर छ। आवश्यक श्रोत, साधन र जनशक्ति खटाएर तिब्रताका साथ काम गर्न सकिने बताउँदै उनले समयमै काम सम्पन्न नभए कारबाही स्वरुप जरिबाना तिराउने चेतावनी समेत दिएका छन् ।

अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ । तर राजनीतिक दलहरु भने सरकार निर्वाचन गराउन भन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा एमाले संसद पुनःस्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ ।


