विदेशीको ‘ग्रान्ड डिजाइन’ ले देश भुङ्ग्रोमा गयो : दुर्गा प्रसाई
काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान’ का संयोजक दुर्गा प्रसाईले देशलाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत सुनियोजित रूपमा कमजोर बनाइएको दाबी गरेका छन् । आज (आइतबार) सम्पादकहरूसँग अन्तरक्रिया गर्दै उनले आफूले सुरु गरेको अभियान बैंकको ब्याज नतिर्ने बहाना नभई देशलाई लुटतन्त्रबाट बचाउने प्रयास भएको दाबी गरे ।
प्रसाईले देशमा राजसंस्था र हिन्दू राष्ट्र हटाउनु ‘ग्रान्ड डिजाइन’ को हिस्सा भएको दाबी गरे । उनले भने, ‘किन गिरिजाप्रसादले ‘ग्रान्ड डिजाइन’ भनिरहन्थे ? किन राजसंस्था र हिन्दू राष्ट्र हटाउनु परेको थियो ? यो खेल अहिले आएर प्रष्ट भयो ।’ उनले सिंहदरबार र सर्वोच्च अदालत जस्ता सम्पदामा आगलागी हुनुले व्यवस्था नै सकिएको संकेत गरेको टिप्पणी गरे । उनले हालैको ‘जेनजी’ आन्दोलनमा आफू सहभागी हुन खोज्दा रोकिएको र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिँदै भने, ‘उहाँले मलाई बचाउनु भयो, नत्र म थुनामा हुन्थें ।’ यद्यपि, उनले सिंहदरबारमा आगो लाग्दा बालेनका नगर प्रहरीले दमकल पठाउनुको साटो आन्दोलनकारीलाई पानी बाँडेको भन्दै आलोचना गरे ।
आफू ‘पढेलेखेको नभई भोगेको र बुझेको’ व्यक्ति भन्दै प्रसाईले एक रुपैयाँबाट आफ्नो व्यावसायिक साम्राज्य खडा गरेको बताएका छन् । ‘मलाई बैंकको ब्याज नतिर्न आन्दोलन गर्यो भनेर आरोप लगाइयो, तर आज म तपाईंका हातमा प्रमाण राखिदिन्छु,’ उनले भने, ‘म नेपालको सफल व्यवसायी हुँ, तर आफूलाई व्यापारी वा व्यवसायी भन्दिनँ ।’
उनले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण प्रस्तुत गर्दै २०८२ सालसम्मको विवरण देखाएका छन् उनले आफ्नो लगानीको बीएन्डसी मेडिकल कलेजले सबैभन्दा बढी विद्युत् खपत गरी नियमित महसुल तिरेको भन्दै कोशी प्रदेशबाट उत्कृष्ट उपभोक्ताको सम्मान पाएको र त्यो सम्मान आफू प्रहरी हिरासतमा हुँदा पाएको बताएका छन् । प्रसाईले आफ्नो आक्रोश केही सीमित व्यापारी र समूहप्रति लक्षित रहेको बताए । उनले केही मारवाडी समुदायका व्यापारीले बिजुली बालेर पैसा नतिर्ने तर आफू जस्ता व्यवसायीले नियमित भुक्तानी गर्दा पनि राज्यबाट अपहेलित हुनुपरेको गुनासो गरे ।
‘देशमा ४१ हजार मारवाडी परिवार छन्, मेरो विरोध सबैप्रति होइन । बर्माबाट लखेटिएका १६ परिवार छन्, जसले बर्मालाई नाङ्गो बनाए, अब नेपाललाई पनि त्यही गर्दैछन्,’ उनले भने । उनले आफूले देशको पक्षमा बोल्दा र गलत कार्यको विरोध गर्दा विभिन्न लाञ्छना खेप्नुपरेको पनि बताएका छन् । प्रसाईले आफ्नो अभियानको मुख्य जड बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर भएको बताए । ‘बैंकहरूले ७ प्रतिशत भनेर कागज गराउँछन् तर १६–१७ प्रतिशत ब्याज असुल्छन् । यसले गर्दा आम नागरिक, डाक्टर, पत्रकार र व्यवसायी ऋणको पासोमा परेका छन्,’ उनले भने । आफ्नो आन्दोलनकै कारण ब्याजदर ६ प्रतिशतमा झर्न बाध्य भएको र यसको फाइदा सम्पूर्ण नेपालीलाई पुगेको उनको दाबी थियो ।
प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । देश छोडेर जान भनियो भने पनि त्यसका लागि तयार भएको उनले बताए । प्रसाईंले भने, ‘तपाईंहरुले भन्नु हुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नु हुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’ आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।
‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं । सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।’ आफू ‘रेण्डम टाइपको मान्छे’ भएको भन्दै उनले आफ्नोबारे मूलधारका मिडियाले कहिल्यै राम्रो नलेखेको गुनासो गरे । ‘जानेर यहाँ आएँ, नजानेर यहाँ आएँ । तपाईंहरुले गाली गर्दैगर्दा पनि यहाँ आएँ,’ सम्पादकहरु समेत सहभागी कार्यक्रममा प्रसाईंले भने, ‘तपाईंहरुसँग लडेर आएको हो नि त । मेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेन नि, कहिल्यै लेखेन जीवनमा । मेरो नराम्रो लेख्यो, राम्रो कहिल्यै लेखेन ।’
