तेस्रो पटक मन्त्रिपरिषद विस्तार, अझै अपूर्ण
काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद तेस्रो पटक विस्तार भएको छ । कार्कीले आज (आइतबार) थप दुई मन्त्री नियुक्त गरेकी हुन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्ता र डा. सुधा शर्मा गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको रुपमा शपथ दिलाए । यससँगै मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।
आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ समेत मन्त्री हुने भनिएपनि उनीहरुबारे विवाद बाहिरिए पनि शपथ रोकिएको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले यसअघि भदौ ३० गते र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।
भदौ ३० गते रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई मन्त्री बनाएकी कार्कीले असोज ६ गते अनिल कुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री बनाएकी थिइन् । कार्कीले पहिलो पटक मन्त्रिपरिषद् गठन गर्दा रामेश्वरप्रसाद खनाललाई अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा ओम प्रकाश अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाएकी थिइन् ।
दोस्रो पटक विस्तार गरेर मन्त्रिपरिषद् ८ सदस्यीय बनाउँदा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, मदन परियारलाई कृषि तथा पशुपंक्षी विकास, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि तथा महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिएकी थिइन् । त्यतिबेला अर्यालयको जिम्मेवारी गृहमा मात्रै सीमित गरिएको थियो । ‘एकाध महत्वपूर्ण मन्त्रालयमा मन्त्री थपिन सक्छन्’ प्रधानमन्त्री कार्कीको सचिवालय सम्वद्ध स्रोतले भन्यो, ‘अब प्रधानमन्त्रीको नेतृत्वमा यही टिमले नै निर्वाचनसम्म काम गर्नेछ ।’
दोस्रो संविधानसभा निर्वाचन गराउने प्रयोजनका लागि १२ वर्षअघि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा १२ जना मन्त्री थिए । त्यतिबेला सबैजसो व्यक्तिहरु पूर्व–प्रशासन पृष्ठभूमिका थिए भने अहिले पनि १२ जनासम्म मन्त्री बनाउने तयारी छ । अहिलेसम्मको उपस्थिति हेर्दा सरकारमा महिला, आदिवासी, दलित एवं मधेशी समूदायको प्रतिनिधित्व भएको देखिन्छ । बब्लु गुप्तालाई मन्त्री बनाएपछि जेन–जी आन्दोलनकर्मी र मधेशी समूदायको प्रतिनिधित्व भएको देखिन्छ । यसअघि मधेशी दलित समूदायबाट रामजी रामको नाम चर्चामा रहे पनि अहिले भने नाम समावेश छैन ।
