`

राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ मा, फागुनमा कुन दलबाट को–को हुँदै विदा ?

Nepal One HD १२ कार्तिक २०८२ १६:००
समाचार

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन आउँदो माघमा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी गराएका छन् । आज (बुधबार) दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।

विदा हुने राष्ट्रियसभा सदस्यहरुमा नेकपा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् । आगामी फागुनमा बिदा हुने एमाले सांसदहरूमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् । यस्तै बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ । जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् । राष्ट्रपतिबाट मनोनीत सांसद बामदेव गौतमको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ ।

एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनको दफा ५ मा निर्वाचनको मिति तोक्ने सम्बन्धी व्यवस्था छ । दफा ५ को उपदफा (१) मा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ । तर निर्वाचनको मिति तोक्नुभन्दा अघि नेपाल सरकारले निर्वाचन आयोगको परामर्श लिनुपर्ने हुन्छ ।
दफा ५ को उपदफा (१क) मा पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । जहाँ भनिएको छ, ‘उपदफा (१) बमोजिम निर्वाचनको मिति तोक्दा संविधानको धारा ८६ को उपधारा (३) बमोजिम कायम भएको पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनु भन्दा पैंतिस दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नु पर्नेछ ।’

संविधानको धारा ८६ मा राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधिसम्बन्धी व्यवस्था छ । राष्ट्रिय सभा एक स्थायी सदन हो । राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन भएर एक तिहाइ सदस्य नयाँ आउँछन् भने एक तिहाइ सदस्य कार्यकाल सकिएर बिदा हुन्छन् । यसरी राष्ट्रिय सभालाई स्थायी सदनको व्यवस्थित गरिएको छ । यही व्यवस्था अनुसार २०७६ साल माघमा भएको चुनावबाट निर्वाचित १९ सदस्यहरू आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *