फोटो हेरेर जेनजी आन्दोलनकारी पक्रिए, ठूलो विद्रोहमा उत्रिन्छौं : प्रकाश चन्द
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दले जेनजी आन्दोलनकारीलाई पक्राउ गरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनले फोटो वा भिडियोको भरमा आन्दोलनकारीलाई पक्राउ गर्ने प्रयास भए ठूलो विद्रोह सुरु हुने दाबी गरेका छन् ।
चितवनमा पत्रकार सम्मेलन गर्दै प्रकाशले भने, ‘फोटोमा देखियो भनेर युवालाई पक्राउ गर्ने काम भयो भने हामी चुप लाग्दैनौं । विचारको साङ्ला तोडेर ठूलो आन्दोलन गर्नेछौं ।’ तीन दिनअघि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउनेको विवरण संकलन भएको र प्रहरी प्रशासन तयारी अवस्थामा रहेको बताएका थिए ।
चन्दले भने प्रहरीले आन्दोलनका नाममा युवालाई तर्साउने र दमन गर्ने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन् । उनले आफूलाई र आफ्ना साथीलाई पक्राउ गर्ने प्रयास भए आन्दोलनले अझ उग्ररूप लिने दाबी गरे । उनले भने, ‘मसँग बम–बारुद बनाउने सीप पनि छ, तर हाम्रो लक्ष्य राजनीतिक समाधान हो ।’
उनका अनुसार २३ गतेको आन्दोलनमा उनले नेतृत्व गरेका थिए, तर २४ गते अवस्था नियन्त्रण बाहिर जाँदा उनी सडकमा निस्केका थिएनन् । ‘युवालाई आतंकित पार्ने काम दलहरुले बन्द गर्नुपर्छ’, उनले भने, ‘अनियमितताको जिम्मा राजनीतिक दलहरुले लिनुपर्छ, अनि आन्दोलनको जिम्मा हामी लिन्छौं ।’ प्रकाशले आफू पाँच हजार बढी युवासँग सम्पर्कमा रहेको र चितवनबाट नयाँ युवा सञ्जाल निर्माणको तयारी गरिरहेको पनि जानकारी दिए । चितवन प्रहरीले हालसम्म एक व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ, तर नाम सार्वजनिक गरेको छैन ।
