`

नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासनः उपसंयोजक नेपाल

Nepal One HD १९ कार्तिक २०८२ १७:४५
राजनीति

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरे । उनले समाजिक न्याय र समानताको लागि माओवादीसहितका दलहरुसँग पार्टी एकता गर्नुपरेको बताए।

उनले वर्तमान राजनीतिक प्रणालीमा जिम्मेवारीभन्दा पदको मोह बढी भएको बताउँदै नेताहरुमा इमानदारी, त्याग र तपस्याको कमी रहेको पनि टिप्पणी गरे । उनले पार्टी र नेतृत्वले आफ्नै आचरण र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याए। उनले विगतको वामएकताको प्रयासमा संलग्न रहेका अधिकांश नेताहरु यही पार्टीमा रहेको उल्लेख गर्दै मुख्य कम्युनिष्ट दल नेपाली कम्युनिष्ट पार्टी नै बनेको पनि जिकिर गरे ।

उनले भने, ‘नेपाली राजनीतिको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको छ, कुशासन भएको छ । नेपाली राजनीतिको सबैभन्दा ठूलो रोग आत्मकेन्द्रित चिन्तन भएको छ । जिम्मेवारी पूरा नगर्ने पदमात्रै ओगट्ने, ठुलठुला ओहोदामा जान चाहाने तर जिम्मेवारी पुरा नगर्ने यो ठूलो समस्या छ । इमानदारिताको अभाव छ । त्याग तपस्याको कमी छ । त्यसो भएको हुनाले हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्न सक्नुपर्छ । नयाँ पुस्ताको विश्वास जित्न सक्नुपर्छ । अब के सही हो भने कुराले च्युरा भिज्नेवाला छैन । हामी कुरा गर्न धेरै सिपालु छौं । तर त्यो कुरालाई व्यवहारमा रुपान्तरण गर्ने कुरामा हामी पछाडि परेका छौं । देश बनाउने सवालमा धेरै कमजोरीहरु रहेका छन् । अब ती कमजोरीहरुलाई सुधारेर अघि बढ्नैपर्छ । हामीले जनतामा नयाँ आशा, विश्वास र संकल्प पैदा गर्न सक्नुपर्छ । त्यसो भएको हुनाले हाम्रो देशको विकासले गर्दा विश्वमा हामी नेपाली भएकोमा गौरवबोध गर्न सक्नेछौं ।’

उपसंयोजक नेपालले नयाँ पुस्तामा विश्वास र आशा जगाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै देश निर्माणका कमजोरी सुधार्दै अघि बढ्न आफूहरु प्रतिवद्ध रहेको पनि बताए । उनले समाजवादी मोर्चालाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने बताए । उनले विभिन्न घटकका कार्यकर्तालाई उत्साहित बनाउन मोर्चाले महत्वपूर्ण भुमिका खेल्ने भन्दै आत्मविश्वासका साथ अघि बढ्न सबैमा आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *