`

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता, तस्बिरहरू

Nepal One HD २० कार्तिक २०८२ १८:१४
फिचर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फिर्ता भएका छन् ।

आज साँझ उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गरे ।  सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल सोमबार प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा प्रस्थान गरेका थिए।

दोहामा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार आयोजना गरिएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई सम्बोधन गरेका थिए। साथै उनले गरिबी निवारण, उत्पादक रोजगारी र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच बैठकमा समेत मन्तव्य राखेका थिए।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए। साथै उनले कतार राष्ट्रिय संग्रहालयको अवलोकन समेत गरेका थिए।

सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक आयोजित ‘सामाजिक विकासका लागि विश्व शिखर सम्मेलन’पछि दोहामा दोस्रो संस्करण सम्पन्न भएको हो। यस सम्मेलनमा विश्वभरका देशहरूले विकासको असमानता, जनसङ्ख्या असन्तुलन र प्रविधिको प्रभावका विषयमा छलफल गरेका थिए।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले नेपालले शान्ति, विकास र स्थायित्वका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *