`

धितोपत्र बोर्डको आन्दोलन स्थगित, करिब डेढ महिनापछि काममा फर्किए कर्मचारी

Nepal One HD २३ कार्तिक २०८२ १४:१५
अर्थ समाचार

काठमाडौं । डेढ महिनादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरूको आन्दोलन स्थगित भएको छ । उनीहरू आज (आइतबार) देखि आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन् । आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति जुटेसँगै कर्मचारीहरू काममा फर्किएका हुन् । उनीहरूको सेवा सुविधा कटौती नहुने व्यवस्थाका लागि सुझाव दिन एक अध्ययन समिति गठन गर्ने सहमति भएको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र कर्मचारीहरूबीच भएको वार्ता भएको थियो ।

सेबोनका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । समितिमा सञ्चालक आनन्दराज शर्मा वाग्ले र दुई जना सेबोनका कर्मचारी सदस्य रहेका छन् । उनीहरूलाई तीन दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन भनिएको छ । अर्थ मन्त्रालयले भदौ ३१ गते पठाएको पत्रकै कारण कर्मचारीहरूले आन्दोलन चर्काएका थिए ।

उनीहरूले सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई कार्यालय प्रवेशमा रोक लगाउँदै काम ठप्प पारेका थिए । अर्थमन्त्री रामेश्वर खनालले व्यापक खर्च कटौती गर्दै सेबोनको कर्मचारी कल्याण कोष कार्यविधि खारेज गर्ने र ती कोषबाट भुक्तानी भएको रकम असुलउपर गर्न निर्देशन दिएका थिए । उक्त निर्देशनले बोर्डको स्वायत्ततामाथि प्रहार भएको र खाइपाई आएको सेवा सुविधा खोसिएको भन्दै कर्मचारीहरू असोज पहिलो सातादेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *