`

कुलमानको पार्टी उज्यालो नेपाल , चुनाव चिह्न चिम

Nepal One HD २४ कार्तिक २०८२ १३:४८
राजनीति

काठमाडौँ । अन्तरिम सरकारको तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङ पार्टी निर्माणको अन्तिम चरणमा पुगेका छन् । घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने र चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो ।

यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।

तत्कालको लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताए । उनकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रिय कमिटी आउने छ ।उपाध्ययको नेतृत्वमा पार्टी दर्ता गरेर कुलमानलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको बताइएको छ । पार्टीले ‘एक व्यक्ति एक पद’को नीति लिने तयारी रहेको छ ।

स्रोतका अनुसार उक्त पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ। त्यस्तै, पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ भने जोडिने कि नजोडिने भन्ने निश्चित नभएको कुलमान निकट स्रोतले जानकारी दिए । उनले भने, ‘आइतबार बेलुकाको वार्तापछि यसबारे भने निर्णय हुन सकेन । सुमनाजी आउने सम्भावना छ तर यकिन भएको छैन ।’

अहिले केन्द्रीय कमिटीमा रहनेको नाम टुंगाउनको लागि छलफल चलिरहेको छ । आज नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिने तयारी रहेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *