धुर्मुस–सुन्तलीको पाँच वर्षको पीडा : सरकारी निकाय धाउँदा–धाउँदै हैरान
काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आफ्नो लोकप्रियता, श्रम र कला जीवन नै लगानी गरेका कलाकार जोडी—सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ पाँच वर्षदेखि सरकारी दैलो–दैलोको चक्कर लगाउँदा लगाउँदै हैरान भएका छन् ।
पाँच पटकका छानबिन, अख्तियारको ‘क्लिनचिट’ र पुल्चोक इन्जिनियरिङ क्याम्पसको ताजा प्राविधिक मूल्याङ्कनले समेत अनियमितता छैन भनेर पुष्टि गरिसक्दा पनि उनीहरू अझै ‘भ्रष्टाचार’ को आरोप बोकेर कागजका फाइल बोकेर सरकारी निकायहरुमा धाइरहेका छन् ।
६० करोडको संरचना बुझाए, १८ करोड ऋण अझै थाप्लोमै
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको झण्डै ६० करोड बराबरको संरचना भरतपुर महानगरले २०७८ सालमै स्वामित्वमा लिसकेको छ । तर रंगशाला निर्माणका क्रममा लिएको १८ करोड ४३ लाख ऋण आजसम्म फछ्र्यौट भएको छैन । संघीय सरकारले यस वर्षकै बजेटमा सम्पत्ति खरिदका लागि १५ करोड रुपैयाँ विनियोजन गरी असारमै महानगरको खातामा निकासा गरिसकेको थियो, तर महानगरले नयाँ–नयाँ अड्को थापेर फाउन्डेसनलाई रकम भुक्तान दिन अस्वीकार गरिरहेको छ ।
गत कात्तिक ११ गते पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले बुझाएको प्रतिवेदन अनुसार फाउन्डेसनले बनाइ दिएको संरचनाको मूल्य भ्याटसहित ५९ करोड ९० लाख रुपैयाँ छ । जुन फाउन्डेसनले खर्च गरेको भन्दा पनि बढी मूल्यको संरचना हो । यसअघि महानगर स्वयंले गरेको मूल्याङ्कन, सघन सहरी विकास परियोजनाको जाँच, विभिन्न छानबिन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान—पाँचै पटकको निष्कर्ष एउटै छ : धुर्मुस–सुन्तलीले कुनै अनियमितता गरेका छैनन् ।
महानगरको ‘अड्को राजनीति’
पुल्चोकको प्रतिवेदन पुगेपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पहिलो अड्को-‘अर्थ मन्त्रालयको पत्र’-राखे । धुर्मुस आफैं काठमाडौं आए, पत्र लिएर भरतपुर पुर्याए । फेरि अर्को अड्को-‘खेलकुद मन्त्रालयको राय’ । धुर्मुस पुनः काठमाडौं धाए, मन्त्री बब्लु गुप्तालाई भेटेर आज पत्र बुझाएका छन् । अब फेरि त्यो पत्र लिएर भरतपुर धाउनु पर्नेछ ।
उता महानगर भने रंगशालाको स्वामित्व लिएर ठेकेदारमार्फत आफैं काम अगाडि बढाइरहेको छ । धुर्मुस भने ऋण तिर्न नसकेर शारीरिक तथा मानसिक दबाबमा छट्पटाइरहेका छन् । लगातारका अपमान, झुटा आरोप र सरकारी दवाब सहन नसकेर धुर्मुस अहिले एन्जाइटी र डिप्रेसनको उपचारमा छन् । औषधि, प्राकृतिक चिकित्सा, अकुपञ्चर, मनोपरामर्श सबै चलिरहेको छ ।
आज बिहान मात्र उनी रजहरको प्राकृतिक चिकित्सालय पुगे, त्यहाँबाट भरतपुर, फेरि काठमाडौं-यस्तै अड्डा–अदालत-मन्त्रालयको चक्करले उनको स्वास्थ्य र जीवन अस्तव्यस्त बनेको छ । सामाजिक सञ्जालमा दम्पती रोएको भिडियो, छोरीको बिलाप, भाइ कुमार कट्टेलका ‘दाइ राज्यको दैलो–दैलोमा भौंतारिएको’ टिप्पणी-सबैले यो पीडाको चित्र अझ स्पष्ट बनाइदिन्छन् ।
‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरूँ ?’
सिंहदरबारमै धुर्मुसले अधिकारीलाई भनेका थिए, ‘अब मलाई यहीं मर्न दिनुस्, कम्तीमा भ्रष्टाचारको ट्याग त हटोस् ।’ २०७२ को भूकम्पपछि आफ्नै घर बेचेर सहयोगमा उत्रिएका दुुई कलाकारले देशकै पहिलो अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन हात हाले । तर राजनीतिक स्वार्थ र लोकप्रियताको डरले उनीहरूमाथि चलाइएका आरोपले पाँच वर्षसम्म उनीहरुको जीवन ऊल्टाइ दियो-हिरोबाट जिरो बनाइदियो ।
पाँच वर्षको निष्कर्ष : गल्ती फाउन्डेसनको होइन, प्रणालीको हो
एकपछि अर्को छानबिनले अनियमितता छैन भनेर ठहर गरिसक्दा पनि भरतपुर महानगरले संघीय सरकारले पठाएको रकम रोकिराख्नु, नयाँ–नयाँ अड्को थापिरहनु-यस्तै व्यवहारले धुर्मुस–सुन्तलीलाई यो अवस्थामा ल्याई दिएको छ ।
६० करोड बढीको संरचना बुझाई सकिएको, १५ करोड निकासा भइसकेको, छानबिनले पाँच पटक ‘क्लिन’ भनेको-तर १८ करोडको ऋण तिर्न नपाएर कलाकार दम्पत्ती मनोवैज्ञानिक संकटमा छट्पटाइरहेका छन् । आखिर किन रोकिएको छ १५ करोड भुक्तानी ? पाँच वर्षदेखि निर्दोष भइसकेको प्रमाणसहित धाइरहँदा पनि धुर्मुस–सुन्तलीले अझै किन भोग्नुपरेको छ यस्तो सास्ती र सजाय ?
