`

सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

Nepal One HD ३० कार्तिक २०८२ १७:५४
प्रमुख खबर

राँझा (बाँके)  । नेपालगञ्ज(बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ ।

करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ । हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

राप्ती नदीमा दुई लेनको पुल निर्माण भएपछि नदी वारपार गर्न पालो कुर्नपर्ने बाध्यता अन्त्य हुने स्थानीय सोहनलाल यादवले बताएका छन् । पुल निर्माण धमाधम भइरहेकाले शीघ्र सम्पन्न भई आवागमन सहज हुने उनले विश्वास व्यक्त गरेका छन् ।

उक्त पुलको हालसम्म ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । सम्झौता भएपछि करिब एक वर्ष पुलको डिजाइनमा समय लागेकाले केही ढिलाइ भएको बताउँदै उनले आगामी असारभित्र निर्माण सम्पन्न हुनेगरी काम भइरहेको जानकारी दिएका छन् ।

सिधनियाघाटमा करिब डेढ दशकअघि निर्माण भएको पुल साँघुरो भएपछि फराकिलो बनाउन थालिएको हो । विसं २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

पुलको लागत भ्याटसहित रु एक अर्ब १९ करोड रहेको योजना कार्यालयका प्रमुख भण्डारीले जानकारी दिएका छन् । करिब ७०० मिटर लम्बाइको पुल, एक हजार ४८० मिटर एप्रोच सडक र चार किलोमिटरसम्म नदी नियन्त्रणको काम एकसाथ सम्पन्न गर्ने योजना रहेको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *