सिमरामा हवाई फायर र अश्रुग्यास प्रहार : वार्ताका लागि जेनजीले राखे शर्त
बारा । जेनजी प्रदर्शनकारीलाई सडक प्रदर्शन रोक्न गरिएको अनुरोध अटेर गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन् । सीडीओले बोलाएको वार्तामा जानका लागि जेन–जीका जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिँड्नै लाग्दा जेन–जी समूहबीचमै विवाद भएपछि अहिले उनीहरू सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन् ।
बुधवार जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा गएर अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने उनीहरूको मुख्य माग छ । जिल्ला प्रहरी प्रमुख तामाङले साह प्रहरीको निगरानीमै रहेको र पक्राउ गर्ने बाचा गरेका छन् । यद्यपि, उनी पक्राउ परिसकेका छैनन् ।
साह पक्राउ परेपछि मात्रै वार्तामा जाने अडानमा केही जेन–जी समूह छन् । जिल्ला संयोजक उपाध्याय भने वार्तामा हिँडिसकेका थिए । अन्य जेन–जी समूहले आफूहरूको सहमतिबिना वार्तामा जान नपाइने भनेपछि उनी फर्किएर सिमरामा छलफल गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले संवादबाट समाधान निकाल्न आन्दोलनरत जेनजी युवालाई वार्तामा बोलाएको थियो । जेनजी युवाले एमाले युवा संघका नेता अरविन्द साह पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन् । जेनजी अगुवा सम्राट उपाध्यायले वार्तामा बस्नुअघि साहलाई पक्राउ गर्नुपर्ने बताए । बारा प्रशासनले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्ताका लागि कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा बोलाएको थियो । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार जेनजी समूहले वार्ता टोलीलाई घटनास्थलमै बोलाएका छन् । युवा संघका स्थानीय नेता साहले नै बुधबार जेनजी युवामाथि पहिलो मुक्का प्रहार गरेको आरोप छ । उनी हालसम्म फरार छन् ।
