बारा घटना: जेनजीसँग वार्ताका लागि खेलकुदमन्त्री सिमरातर्फ
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता बाराको सिमरामा भएको तनाव मत्थर गर्न सिमरातर्फ लागेका छन् ।
मन्त्री गुप्ता बिहीबार साँझ सिमरा गएका उनको साथमा रहेका जेनजी अगुवा पुरुषोत्तम यादवले जानकारी दिए। मन्त्री गुप्तासँग पुरुषोत्तमसहित हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र शिव यादव पनि साथमा छन्।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वार्ताका लागि बोलाएपछि उनीहरू बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई वार्ताका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाइएको हो।
जेनजीले भने वार्ताका लागि कलैया जान नसक्ने र जितपुर सिमरा उपमहानगरपालिकामा वार्ता हुनुपर्ने अडान लिएका छन्।
प्रमुख जिल्ला अधिकारी मिश्रले भने अहिले कमान्ड पोस्ट छोडेर आउन नमिल्ने र सदरमुकाम कलैया नै आउनुपर्ने प्रस्ताव गरेका छन्। प्रदर्शनकारी र प्रशासन दुवैपक्षसँग जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले वार्ताका लागि सहजीकरण गरिरहेको बताएका छन्।
बुधबार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो । नेकपा एमालेका महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतसहितका नेता बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए । आफ्नो नेतालाई अवरोध गरेपछि एमालेका नेता कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए।
सोही कारण सिमरामा दुई दिनदेखि तनावग्रस्त छ। त्यहाँ कर्फ्यू आदेश जारी गरिएको छ।
जेनजी आन्दोलनका कारण बुधवार बिहान एउटा बाहेक सम्पूर्ण उडान स्थगित भएको थियो । बुधबार उडान नभएर फर्किएका यात्रुहरूका लागि विमानस्थलले आज पठाएको छ ।
जेनजी प्रदर्शनकारीमाथि हातपात गरेको आरोपमा जितपुर सिमरा उपमहानगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी पक्राउ परेका छन् । उनीहरूविरुद्ध ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
