सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अरबिन्द साह पक्राउ
काठमाडौं । बाराको सिमरामा जेनजी युवालाई कुटेको आरोपमा नेकपा एमालेका कार्यकर्ता अरबिन्द साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार साँझ पक्राउ गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारीलाई पक्राउ गरेको थियो ।
गएको बुधबार एमालेले सिमरामा गर्न लागेको कार्यक्रमका क्रममा जेनजी र एमाले कार्यकर्ताबीच झडप हुँदा त्यहाँको अवस्था असामान्य बनेको थियो । बुधबार एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने थाहा पाएपछि जेनजीले प्रदर्शन गरेका थिए । जेनजीको विरोध प्रदर्शनपछि दुवै नेता सिमरा जान नसकी काठमाडौँमै रोकिएका थिए । विरोध प्रदर्शनको क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए ।
स्थानीय जेनजी अगुवा सम्राट भनिने साइकुस उपाध्यायले उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा बुधबार जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जेनजीको मुख्य माग कुटपिटमा संलग्न साहलाई पक्राउ गर्नुपर्ने थियो । उनीहरुलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गर्दै जेनजीले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका थिए । आज भने अहिलेसम्म सिमराको अवस्था सामान्य छ । अवस्था सामान्य बन्दै गएकाले गए राति ८ बजेदेखि सिमरामा कफ्र्यु आदेश थप नगरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।
