`

सेनाका खड्का र न्यौपानेलाई नेपालगन्ज म्याराथन उपाधि

Nepal One HD ६ मंसिर २०८२ १६:४६
खेलकुद

नेपालगन्ज । नेपाली सेनाका खडकबहादुर खड्का र पूर्णलक्ष्मी न्यौपानेले ११ औँ धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिबार नेपालगन्ज भएको म्याराथनमा खडक दुई लाख नगद र पूर्णलक्ष्मी नगद ७५ हजारसहित ट्रफी, पदकले पुरस्कृत भएका हुन् ।

म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दुरी पुरा गर्दै देशकै सरल कोर्स मानिएको नेपालगन्जमा गत वर्षको रेकर्ड ब्रेक गर्न सफल भए ।

उनले लगातार दोस्रो पटक र समग्रमा नेपालगन्ज म्याराथनको विजेता ट्रफीमा ह्याट्रिक गरेका हुन् । यसमा नेपाली सेनाकै सुशीलकुमार शाहीले २ घण्टा १६ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गर्दा नगद रु एक लाख र पदकबाट पुरस्कृत भए ।

तेस्रो स्थानमा आउन सफल नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले २ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दा पचास हजार नगद र पदकबाट पुरस्कृत भएका हुन् । यसमा त्रिभुवन आर्मीका विनोद रोकाय (२ः२०.३३) ले चौथो, एपीएफका राजन चौधरी (२ः३१.०६) ले पाँचौँ, सेनाका धनु मानन्धर (२ः३२.५०) ले छैटौँ स्थान हासिल गरे ।

त्यसैगरी यमराज खत्रीले (२ः५०.५५ घण्टा), सोम रावतले (२ः५७.४८ घण्टा) दिनेशजंग शाहीले (२ः५८.१९ घण्टा), रेशम छन्त्यालले (३ः०१.२० घण्टा), निर्मल लम्सालले (३ः२६.१३ घण्टा), अनिल थारु ३ः३१ः००, अनिपाल रावत ३ः३३ः२४, रोशनसिंह विष्ट ३ः४१ः२१, अर्जुन खत्रीले ४ः००.३९, ज्ञानेन्द्रकुमार जैशीले ४ः०३.२०, कृष्णकुमार महर्जनले ४ः३८.५५ घण्टामा दुरी पुरा गर्दै शीर्ष अठारभित्र स्थान सुरक्षित गरेका छन् ।

हाफ म्याराथन महिला २१ किमीतर्फ सेनाकी पूर्ण राज्यलक्ष्मीले एक घण्टा २१ मिनेट, २७ सेकेन्डमा निर्धारित दुरी पुरा गरी प्रथम स्थान हासिल गर्दा नेपाल एपीएफ क्लबकी फुलमति रानाले १ः२७ः२२ घण्टा, जुम्लाकी सुनदीवा बुढाले १ः२७.३९ घण्टा, पुष्पा आचार्यले १ः३५.०१ घण्टा, अमिता राईले १ः४७.२९ घण्टा समय निकाल्दै शीर्ष पाँच स्थान हासिल गरे ।

उनीहरू क्रमशः ७५ हजार, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद, पदकले पुरस्कृत भए । पूर्णलक्ष्मीको यो दोस्रो उपाधि हो । यसअघि उनले पाँचौँ संस्करणमा उपाधि जितेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *