`

साउदीमाथि नेपालको प्रभावशाली जित, निरजकुमार यादवको शतक

Nepal One HD ९ मंसिर २०८२ १८:४२
खेलकुद

काठमाडौं । एसीसी पुरुष यू–१९ प्रिमियर कपको आफ्नो पहिलो खेलमै नेपाली युवा टोलीले प्रभावशाली प्रदर्शन गर्दै साउदी अरेबियामाथि ठुलो जित दर्ता गरेको छ । मंगलबार युएईको अजमानमा भएको समूह ‘ए’ को खेलमा नेपालले २१९ रनको लक्ष्य ३०.४ ओभरमै केवल २ विकेट गुमाएर पुरा गर्‍यो ।

ओपनर निरजकुमार यादव नेपाली टोलीका लागि खेलको आधारस्तम्भ बने । उनले ९० बलमा १३ चौका र १ छक्कासहित ११४ रन प्रहार गर्दै एकतर्फी जितको जग बसाए । उनको साथमा निश्चल क्षेत्रीले पनि उल्लेखनीय खेल्दै ३० रनको अविजित योगदान दिए । दुवै बीच दोस्रो विकेटका लागि १५५ रनको ठोस साझेदारी रह्यो । ओपनर वंश क्षेत्रीले समेत तेज ब्याटिङ गर्दै २० बलमा ३० रन प्रहार गरे। इनिङ्सको अन्त्यतिर सिवरिन श्रेष्ठ १ रनमा अविजित रहे ।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्‍यो । निर्धारित २० ओभरमा साउदीले ९ विकेट गुमाउँदै २१८ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो । नेपालका लागि अशोक धामी सबैभन्दा सफल बलर रहे-२ विकेटसहित । दयानन्द मण्डल, सुशीलबहादुर रावल, सिरविन श्रेष्ठ र दर्स सोनारले समान एक–एक विकेट झारे ।

यस जितसँगै नेपाल समूह ए मा शीर्ष स्थानमा उक्लिएको छ । हङकङले एक जित र एक हारसहित २ अंक जोडे पनि रन–रेटको आधारमा नेपाल अघि छ । अब नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । सो खेल जित्न सके नेपाल सहजै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

यस संस्करणको यू–१९ प्रिमियर कपमा जम्मा १४ टोली सहभागी छन्, जसलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल विजेताले उपाधि भिडन्त खेलेका बेला पराजित टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *