सुमनाले भनिन्–म एकता अभियानमै छु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी नेतृ सुमना श्रेष्ठले आफू एकता प्रक्रियाको अभियानमा रहेको बताएकी छिन् । बुधबार उज्यालो नेपाल पार्टीको घोषणासभामा पुगेकी उनले यसबारे प्रष्ट पारेकी हुन् । उनले आफू पछिल्लो समय नयाँ राजनीतिक दलहरूको पक्षमा रहेको बताइन् । ‘सुमना कहाँ छ भनेर सोध्ने गरिएको छ । म एकतामा छु,’ उनले भनिन् । रास्वपा छोडेपछि उनी उज्यालो नेपाल पार्टी निर्माण प्रक्रियामा पनि सामेल भएकी थिइन् ।
बुधबार ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ घोषणा सभामा विशेष अतिथिका रूपमा बोल्दै उनले वैकल्पिक शक्तिहरू विभाजित नभई एकढिक्का हुनुपर्ने बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको दूरी बढेपछि उनी कता छिन् भन्ने चासो सर्वत्र रहेका बेला उनले मञ्चबाटै यसको जवाफ दिएकी हुन् । सुमनाले नयाँ र परिवर्तनकारी शक्तिहरू अलग–अलग बाटोमा हिँड्दा त्यसको फाइदा पुराना दल र प्रवृत्तिका नेतृत्वलाई पुग्ने चेतावनी दिइन्।
‘धेरैले सोध्छन् ‘सुमना कहाँ छ ?’ सुमना कहाँ छ, सुमना कहाँ छ… म भन्छु– सुमना एकतामा छ,’ उनले भनिन्, ‘यदि हामी फरक–फरक बाटोमा हिँड्ने हो भने पुराना पार्टीहरूलाई फेरि रेड कार्पेट ओछ्याएर ‘आउनुस्, देश लुट्नुस्’ भनेर बोलाए जस्तै हुन्छ ।’ हातका औँलाहरू छुट्टाछुट्टै हुँदा कमजोर हुने तर मुट्ठी बनेपछि शक्ति प्राप्त हुने उदाहरण दिँदै उनले भनिन्, ‘जब यो मुट्ठी बन्छ, त्यतिबेला मात्रै हामी पावरफुल हुन्छौँ । होइन, छुट्टाछुट्टै फरक–फरक बाटोमा सबैजना जाने हो भने फेरि देशले दुःख पाउँछ ।’
अन्तिममा उनी यो पार्टीमा भने सहभागी भइनन् । तर नयाँ पार्टीहरूबीच एकता आवश्यक रहेकोमा उनले जोड दिइन् । नयाँहरू नमिल्ने हो भने भने पराना पार्टी नै आउने भएकाले एकता गर्न सबैलाई उनले आग्रह गरिन् । घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि पुगेकी हुन् । रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनी प्रज्ञा प्रतिष्ठानमा चलिरहेको घोषणा सभामा पुगेकी हुन् । उनी पनि संलग्न रहेर पार्टी बनाउने विषयमा यसअघि धेरै चरणमा कुराकानी भएको थियो । तर श्रेष्ठसँग कुरा मिलेको थिएन । उनी शुभकामना दिनका लागि मात्र सभामा पुगेकी हुन् कि दलकै सदस्यको रुपमा आउने हुन् खुलिसकेको छैन ।
उनलाई अतिथिका रुपमा मञ्चमै आसनग्रहण गराइएको गराइएको छ । कुलमान घिसिङले पार्टी खोल्ने तयारी गर्दैगर्दा उनी कुलमानको पार्टीमा सहभागी हुने बताइएको थियो । पछि पार्टीको नाममा चित्त नबुझेको भन्दै उनी उक्त पार्टीमा नरहने खबर बाहिरिएको थियो । निर्वाचन आयोगमा अध्यावधिक भएको पार्टी पदाधिकारीको सूचीमा समेत उनको नाम उल्लेख थिएन । तर अहिले पार्टीको औपचारिक घोषणा कार्यक्रममा भने सहभागी भएकी छिन् । २०७९ सालको निर्वाचनपश्चात रास्वपाबाट समानुपातिक सांसद हुँदै शिक्षामन्त्री बनेकी श्रेष्ठले केही समयअघि मात्रै रास्वपा छोडेकी थिइन् ।
