`

पुटिनको शान्ति–अनिच्छा आरोपबीच क्रेमलिन–अमेरिकी दूत वार्ता निष्फल

Nepal One HD १७ मंसिर २०८२ १७:४५
विश्व

किएभ । अमेरिकी दूतहरूसँग पाँच घण्टासम्म क्रेमलिनमा चलेको वार्ताले कुनै प्रगति नदेखाएपछि युक्रेनी तथा युरोपेली अधिकारीहरूले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति प्रयासप्रति चासो नदेखाएको आरोप लगाएका छन् । यद्यपि, वार्ता भने आगामी दिनमा निरन्तर जारी रहने अपेक्षा गरिएको छ ।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले पुटिनले ‘विश्वको समय बर्बाद गर्न बन्द गर्नुपर्ने’ कठोर टिप्पणी गरेका छन् । यसैगरी, बेलायतका विदेशमन्त्री यभेट कुपरले पनि पुटिनलाई ‘ब्लस्टर र रक्तपात अन्त्य गर्दै न्यायपूर्ण र दीर्घकालीन शान्तिका लागि वार्ता टेबलमा आउन तयार हुन’ आग्रह गरेका छन् ।

मङ्गलबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनरसँग पुटिनले भेटवार्ता गरेका थिए । जनवरीमा ट्रम्प पुनः पदमा फर्किएपछि उहाँले शान्ति सम्झौता वार्तामा देखिएको असहजतालाई तोड्न यो भेट अर्को प्रयासका रूपमा हेरेको वासिङ्टनको तर्क छ ।

रूसी र अमेरिकी पक्षबीच वार्ताको संवेदनशील विषयवस्तु गोप्य राख्ने सहमति भए पनि प्रमुख अड्को भने त्यही रहेको छ—फेब्रुअरी २०२२ को आक्रमणपछि रुसले कब्जामा राखिरहेको युक्रेनी भूभाग उसैका लागि कायम रहने कि न रहने ।

पुटिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले क्षेत्रीय मुद्दामा ‘अहिलेसम्म कुनै सहमति भएको छैन’ भन्दै क्रेमलिनलाई हालको सङ्कटको कुनै छिटो समाधान देखिन नसकेको टिप्पणी गरेका छन् । युक्रेनले पनि कब्जा गरिएका भूभाग कुनै हालतमा नछोड्ने दृढतामा अडिग रहँदै आएको छ ।

उसाकोभका अनुसार अमेरिकी टोलीसँगको संवाद ‘बरु उपयोगी, रचनात्मक र ठोस’ रह्यो । तर, अमेरिकी शान्ति प्रस्तावका ‘विशिष्ट शब्दहरू’ अझै छलफलको चरणमै रहेको उनको भनाइ थियो ।

वार्ताअघि नै पुटिनले युरोपेली मुलुकहरूमाथि शान्ति प्रयास विफल बनाउन खोजेको आरोप लगाउँदै कडा चेतावनी दिएको थियो । ‘हामी युरोपसँग लड्न चाहँदैनौँ, तर यदि युरोप आफूले नै युद्ध सुरु गर्न चाहन्छ भने हामी पूर्ण रूपमा तयार छौँ’ भन्ने उहाँको टिप्पणीले करिब चार वर्षदेखि जारी युद्ध रोक्ने प्रयासमा अझ तनाव थपिएको थियो ।

– युरोपेली सहयोग थप सुदृढ –

ब्रसेल्समा बसेको युरोपेली नाटो देशका विदेशमन्त्रीहरूको बैठकमा पुटिनप्रति धैर्य लगभग समाप्त भएको सङ्केत देखियो ।

एस्टोनियाका विदेशमन्त्री मार्गस साहकनाले ‘पुटिनले कुनै मार्ग परिवर्तन नगरी उल्टै युद्धभूमिमा थप आक्रामकता देखाइरहेको’ आरोप लगाउँदै ‘उनी शान्ति नै चाहदैनन्’ भन्ने टिप्पणी गरेका छन् ।

फिनल्यान्डकी विदेशमन्त्री एलिना वाल्टोनेनले पनि रुसबाट ‘कुनै छुट वा लचकता नदेखिएको’ भन्दै पूर्ण युद्धविराम नै विश्वास निर्माणको प्रारम्भिक आधार हुनुपर्ने बताएका छन् ।

नाटोका महासचिव मार्क रुटले युक्रेनका साझेदार राष्ट्रहरूले मस्कोमाथि दबाब कायम राख्दै सैन्य सहयोग बढाउँदै जाने स्पष्ट पारेका छन् । “शान्ति वार्ता चलिरहनु सकारात्मक हो, तर वार्ता कहिले निष्कर्षमा पुग्छ भन्ने अनिश्चितताबीच युक्रेन सबैभन्दा बलियो अवस्थामा रहनु आवश्यक छ”, उनले भने ।

क्यानाडा, जर्मनी, पोल्यान्ड र नेदरल्यान्ड्सले युक्रेनलाई प्रदान गर्न अमेरिकी हतियार खरिदका लागि करोडौँ डलर खर्च गर्ने घोषणा गरेका छन् ।

गत अगस्टदेखि युरोपेली नाटो मुलुकहरूले ‘पियुआरएल’ नामक वित्तीय संरचनामार्फत युक्रेनका प्राथमिकताका आधारमा अमेरिकी हतियारहरू खरिद गर्दै आएका छन् ।

– रातारात तीव्र आक्रमण, मानव क्षति बढ्दै –

उता, युद्धभूमिमा रुस र युक्रेन दुवैले ड्रोन तथा मिसाइल प्रयोग गरेर अग्रपङ्क्ति पछाडिका क्षेत्रहरूमा एकअर्कामाथि तीव्र आक्रमण जारी राखेका छन् ।

रुसबाट प्रहार गरिएको ड्रोन आक्रमणले युक्रेनको ड्निप्रोपेट्रोभस्क क्षेत्रअन्तर्गत टेर्निभ्का सहरमा दुई जनाको मृत्यु र तीन जनाको घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भ्लादिस्लाव हाइभानेन्कोले बुधबार जानकारी दिए । आक्रमणले एउटा घर पूर्ण रूपमा ध्वस्त भएको तथा अन्य छवटा क्षतिग्रस्त भएको बताइएको छ ।

युक्रेनी वायु सेनाले रातारात रुसले १११ वटा स्ट्राइक र डिकोय ड्रोन प्रक्षेपण गरेको जनाएको छ ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले आफ्नो हतियार प्रणालीले १०२ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । खसेका ड्रोनका भग्नावशेषका कारण मस्कोबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको टाम्बोभ क्षेत्रको तेल डिपोमा भीषण आगलागी भएको स्थानीय अधिकारी येभ्गेनी पेरिभिसोभले पुष्टि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *