`

तयारी छोटो भए पनि उपाधि जित्छौं : एपीएफ

Nepal One HD १८ मंसिर २०८२ १६:१०
खेलकुद

काठमाडौं । सशस्त्र प्रहरी (एपीएफ) की कप्तान अनिता बस्नतेले पहिलोपल्ट हुन लागेको साफ महिला क्लव च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवारदेखि आगामी पुस ५ गतेसम्म क्लव च्याम्पियनसिप हुनेछन् । प्रतियोगिताअगाडि बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा एपीएफका कप्तान अनिताले तयारी पूरो भएको र उपाधि जित्ने विश्वास व्यक्त गरेकी हुन् ।

कप्तान तथा प्रशिक्षकहरूको पत्रकार सम्मेलनमा अनिताले उत्साहका साथ आफूहरु पहिलो साफ वुमेन्स क्लब च्याम्पियनससिप खेल्न उत्साहित रहेको बताइन् । टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि राम्रो नतिजा ल्याउने विश्वास उनको छ । दक्षिण एशियाली फुटबलको स्तरवृद्धि गर्ने उद्देश्यले शुरु गरिएको पहिलो संस्करणमा नेपालको च्याम्पियन एपीएफ क्लव, भारतको इस्ट बंगाल एफसी, बंगलादेशको नासरिन स्पोटर््स एकेडेमी, भूटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसी गरी कुल पाँच टोलीले चुनौती प्रस्तुत गर्दैछन् । यो च्याम्पियनसिपले दक्षिण एशियाली फुटबलमा नयाँ अध्याय थपिँदैछ । अनिताले यो प्रतियोगितालाई लिएर उत्साहित भएको पनि बताइन् ।

‘नेपालमै पहिलोपटक साफ क्लब च्याम्पियनसिप हुँदैछ, हामी एकदमै उत्साहित छौं । राष्ट्रिय टोलीका खेलका कारण क्लबबाट राम्रोसँग ट्रेनिङ गर्न पाएनौं । तर हामी पूर्ण रूपमा तयार छौं । सबै एकजुट भएर खेले हामी राम्रो नतिजा मात्र होइन, उपाधि नै जित्न सक्छौं’, उनले भनिन् । एपीएफका मुख्य प्रशिक्षक जीवेश पाण्डेले पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । प्रशिक्षक पाण्डेले टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि आफ्नो टोलीले सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरे । टिममा उपलब्ध खेलाडीहरूको सही सदुपयोग गर्ने उनको भनाई छ ।

‘हामीसँग जुन खेलाडी छन् । तिनैबाट उपाधि जित्छौं । गत वर्ष पनि यही टोलीले घरेलु लिगको उपाधि जितेको हो । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला फुटबलको झण्डा फहराउने सुनौलो अवसर पाएका छौं र मानसिक रूपमा पनि हामी पूर्ण तयार छाैं,’ उनले भनेका छन् । ट्रान्सपोर्ट युनाइटेडका प्रशिक्षक यशी वाङ्चुक र कप्तान सुनिता राईले घरेलु लिगमा दोस्रो भएको र ९९ प्रतिशत खेलाडी राष्ट्रिय टिममा रहेको उल्लेख गरेको छ । तयारीमा पनि राम्रो भएकाले सुखद् नतिजा ल्याउने ट्रान्सपोर्टको विश्वास छ । पाकिस्तानको कराची सिटी एफसीका प्रशिक्षक अदिल रिज्की र कप्तान मारिया खानले पनि आफ्नो क्लब नयाँ रहे पनि सुखद प्रदर्शन गर्ने उल्लेख गरेका छन् ।

दशरथ रंगशालामा खेल्न निकै उत्साहित पनि रहेको कराचीले बताएको छ । नासरिन स्पोटर््स एकेडेमीका प्रशिक्षक मोनिर हुसेन र कप्तान साजिदा अक्तेरले नेपाली भूमिमा दुईपल्ट महिला टोलीले उपाधि जितेकाले केही दबाब रहेको उल्लेख गरेको छ । साथै टोलीमा अधिकांश युवा खेलाडी रहेकोले क्लबले जनाएको छ । भारतीय क्लब भने फ्लाइट ढिला भएकाले पत्रकार सम्मेलनमा उपस्थित भएन ।

प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ । लिगमा शिर्ष दुई स्थान प्राप्त गर्ने टोलीले उपाधिका लागि खेल्ने उल्लेख छ । पहिलो संस्करणको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । सहभागी तीन टोलीले दुई हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले उल्लेख गरेको छ । सबै टोली बुधवार नै नेपाल आइपुगेका छन् । उनीहरूले च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा अभ्यास गर्ने तालिका छ । यस प्रतियोगिताको टिकट साधारण प्यारापिटतर्फ तीन सय र भिआइपी पारापिटमा पाँच सय रुपैयाँ तोकिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *