`

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

Nepal One HD २२ मंसिर २०८२ १७:००
प्रमुख खबर

काठमाडौँ । गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’को आज यहाँ एक समारोहबीच विमोचन गरिएको छ । छवटा गीत सङ्ग्रहित सो एल्वमका दुईवटा गीतको भिडियो निर्माण गरिएको छ ।

डा. पोखरेलको लेखनका ती गीतहरुमा वरिष्ठ सङ्गीतकार दीपक शर्माको सङ्गीत तथा वरिष्ठ गायक राजेश पायल राई, शिव परियारलगायतका गायकहरुले स्वर दिएका छन् । वरिष्ठ चलचित्रकर्मी एवं गीतकार नीर शाह, चलचित्र पत्रकार प्रकाश सुवेदी, टेलिभिजन पत्रकार टीकाराम यात्री, गायक परियार र चलचित्र निर्माता सुनील पोखरेलले एल्वमको विमोचन गरेका थिए ।

सो अवसरमा वरिष्ठ चलचित्रकर्मी एवं गीतकार शाहले सङ्गीत क्षेत्रमा नवीनतम् प्रयोग नभएसम्म यसको श्रीवृद्धि हुन सक्दैन भनेका छन् । उनले गीति साहित्य सरल, सुसंस्कृत साहित्य भएको बताउँदै साहित्यका अन्य विधाभन्दा गीति क्षेत्र कम सशक्त छैन भनेका छन् ।

संविधानसभाका सदस्यसमेत रहेका गीतकार डा. पोखरेलले गीतसङ्गीत क्षेत्रको विकास बिना राष्ट्रको विकास हुन नसक्ने भएकाले आफूले चिकित्सकीय क्षेत्रको अतिरिक्त चलचित्र र साङ्गीतिक क्षेत्रलाई पनि आफूले महत्व दिएको बताएका छन् ।

कार्यक्रममा पत्रकारद्वय सुवेदी र यात्रीले साहित्य, कला र सङ्गीत बिनाको मानिस पशुतुल्य हुने बताउँदै डा. पोखरेलको गीति लेखन, चलचित्र निर्माता एवं निर्देशनको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *