`

आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम

Nepal One HD २२ मंसिर २०८२ १७:२२
राजनीति

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरे । निर्वाचनबाट दुईतिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताए । उनले दुईतिहाई मत ल्याउनको अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनताको जानुपर्ने उनको भनाई छ । १७ वटा पार्टी एकिकृत भएर पार्टी बनेको उल्लेख गर्दै उनले जनताको घर दैलोमा पुग्न नेताको अभाव नै नहुने बताए । उनले देशमा समाजवाद ल्याउनको लागि नेपाली कम्युनिष्ट पार्टीले दुईतिहाई ल्याउनैपर्ने उल्लेख गरे । उनका अनुसार पार्टीले दुईतिहाई बहुमत ल्याएपछि समाजवादको काम त्यहाँबाट थालनी हुनेछ ।

जनताको सुविधाको लागि बाटो बन्ने, उत्पादन वृद्धि गर्ने, विकासका लागि सारा संसारबाट वैज्ञानिकहरुलाई नेपाल ल्याउने, नेपालबाट सीप सिक्न बाहिर पठाउने लगायतको काम गर्ने उनले बताए। आउने नयाँ पुस्ताले गौरव गर्ने खालको नेपाल निर्माण गर्ने उनले दाबी गरे।

उनले भने, ‘हामी नेपाली कम्युनिष्ट पार्टी, आज १७ वटा पार्टी यसमा एकीकृत भएका छन् र हामी अगाडी बढ्दैछौँ । आगामी फागुन २१ गतेको आम निर्वाचनमा हामीले भाग लिन्छौँ । अहिलेदेखि नै जानुपर्छ हामी जनताको बीचमा, कही कुनै पालिका खाली गर्ने होईन, कुनै वडा खाली गर्ने होईन, कुनै टोल खाली गर्ने होईन, सब ठाउँमा । १७ वटा पार्टी सामेल भईसकेपछि नेताको अभाव नै हुँदैन, ती सबै नेता जनताको घर दैलोमा पुग्ने हो । त्यो अभियान हामीले शुरु गर्ने हो ।

मरौँला अथवा बाँचौला फरक पर्दैन तर हामी समाजवाद निर्माण गर्नको निम्ति आगामी फागुन २१ गतेको निर्वाचनबाट अहिले तपाईहरुको बीचमा पनि म भन्न चाहन्छु, दुई तिहाई बहुमतमा नै हामी पुग्नुपर्छ । दुईतिहाई बहुमतसहितको भएपछि हामीले शुरु गर्नेछौँ, समाजवादको काम त्यहाँबाट थालनी हुनेछ, बाटो बन्नेछ, उत्पादन हुनेछ ।

घरहरु बन्नेछन्, कसरी जनतालाई सुविधा हुन्छ, सारा संसारबाट वैज्ञानिकहरुलाई ल्याउनेछौँ । हामीले पनि सीप सिक्न पठाउनेछौँ, ठाउँठाउँमा । हामीले यस्तो किसिमको नेपाल निर्माण गर्नेछौँ र जसलाई हाम्रा सन्ततीहरुले सधैभरी गौरव गर्नेछन् ।’

उनले समाजवाद निर्माणको लागि युवाहरुलाई उत्पादनसंग जोड्नुपर्ने बताए । १६ वर्षदेखि ९० वर्ष मुनिका काम गर्नसक्ने जनशक्तिलाई श्रम गर्न लगाउनुपर्ने उनको भनाई छ । रोजगार नपाएर नै युवाहरु आन्दोलनमा उत्रिने गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *