मन्त्रालयलाई मेयरको पत्र: दिनदिनै प्रमुख प्रशासकिय अधिकृत फेर्दा पनि फरक पर्दैन
काठमाडौँ । कार्यकारी अधिकृत परिवर्तन भएर हैरान भएपछि धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरूङले संघीय सरकारलाई व्यंग्य गर्दै पत्र पठाएका छन् ।
सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रालयलाई मेयर गुरूङले दिनदिनै प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्दा पनि फरक पर्दैन भन्दै पत्र पठाएका हुन् । प्रमुख कार्यकारी अधिकृत परिवर्तन गरिएको जानकारी गराउन मन्त्रालयले लेखेको पत्रको जवाफमा उनले यस्तो पत्र पठाएका हुन् ।
पत्रमा उनले लेखेका छन्, “यस पाख्रिबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाइँ गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाईभैंसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाइ गर्न, फलफूल लगाउन, फूल्न, फल्न र सोको निकासा गरी बिक्रीवितरण गर्न कुनै समस्या नरहेकाले त्यहाँ मन्त्रालयबाट प्रत्येक महिनारमहिनामा वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।”
स्थानीय विकास मन्त्रालयले सुनिल पौडेललाई पाख्रिबास नगरपालिका सरूवा गरेको थियो । यही पत्रको जवाफ दिँदै मेयर गुरूङले दिनदिनै प्रमुख प्रशासकिय अधिकृत सरुवा गर्दा पनि फरक नपर्ने बताएका हुन् ।
गत चैतमा मात्रै आएका प्रमुख कार्यकारी अधिकृत विज्ञान कोइरालार्ई सरूवा गर्दै सुनिल पौडेललाई पठाउने निर्णय गरेपछी दिक्क भएका मेयरले यस्तो जवाफ फर्काएका हुन् ।
