`

मेयर बालेनका बुवाको निधनको समाचारमा यमबुद्धकाे बुवाको फोटो राख्ने ६८ अनलाइनलाई प्रेस काउन्सिलको ध्यानाकर्षण

Nepal One HD २३ मंसिर २०८२ १०:५१
प्रमुख खबर

काठमाडौं । काठमाडौंका मेयर बालेन (बालेन्द्र) शाहका बुवाको निधनसम्बन्धी समाचारमा विभिन्न अनलाइन मिडियाले कपी–पेस्ट प्रवृत्ति, तथ्य जाँच बिना सामग्री प्रकाशन र गलत तस्वीर प्रयोग गरेको भन्दै प्रेस काउन्सिल नेपालले कडा ध्यानाकर्षण गराएको छ । काउन्सिलले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार, बालेन शाहका बुबा रामनारायण शाहको निधनसम्बन्धी समाचारमा कतिपय सञ्चारमाध्यमले जीवित व्यक्ति अम्बिकाप्रसाद अधिकारीको तस्वीर प्रयोग गरेका थिए । यस्ता गतिविधिले पीडित मात्र नभई आम नागरिकको संवेदनामा समेत चोट पुर्‍याउने काउन्सिलले जनाएको छ ।

मंसिर १५ गते सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको खबर सार्वजनिक भएपछि काउन्सिलले अनुगमन गर्दा १९ अनलाइन मिडियाले गलत तस्वीर प्रकाशित गरेका, एक अनलाइनले ‘मेयर बालेन शाहको नै निधन’ भएको भन्ने भ्रामक सूचना प्रसारण गरेको देखिएको थियो । करिब दुई दर्जन मिडियाले काउन्सिलको मौखिक निर्देशनपछि तुरुन्तै सामग्री सुधार गरे पनि पछिल्लो अनुगमनमा ६८ अनलाइन मिडियाले अझै पनि गलत तस्वीरसहितको सामग्री यथावत राखिएको पाइएपछि काउन्सिलले कडा प्रतिक्रिया जनाएको हो ।

काउन्सिलले यस्तो गल्ती दोहोरिन नदिन ती सबै माध्यमलाई तत्काल क्षमा याचनासहित तस्वीर र सामग्री सच्याउन निर्देशन दिएको छ । उक्त अनलाइनहरूको नाम सूची काउन्सिलको वेबसाइटमा उपलब्ध गराइएको उल्लेख छ । विज्ञप्तिमा काउन्सिलले लेखेको छ, ‘तथ्यगत पुष्टि र सावधानी बिना व्यक्तिको जीवनसँग जोडिएका संवेदनशील विषयमा गलत सामग्री प्रकाशन गर्नु पत्रकारिताको नैतिकता विपरीत मात्र होइन, मानवीय संवेदनामै आघात पुग्ने कार्य हो ।’

काउन्सिलले सम्पूर्ण सञ्चार माध्यम र पत्रकारलाई तथ्य पुष्टि नगरी सामग्री नछाप्न, स्रोत र तस्वीरप्रति उच्च सावधानी अपनाउन, ‘को छिटो’ प्रष्स्पिर्धामा नपर्न आह्वान गरेको छ । डिजिटल युगमा सूचना छिटो फैलिने भए पनि, गलत सामग्रीको प्रभाव दीर्घकालीन हुने काउन्सिलको मत छ । व्यक्तिगत जीवन, परिवार र सामाजिक छविमा पर्ने क्षतिको कुनै विकल्प नभएको भन्दै काउन्सिलले सञ्चार माध्यमले पेशागत आचारसंहिता नबिर्सन पुनः आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *