पूर्व गृहमन्त्री लेखकको दावी : आन्दोलनमा बल प्रयोग गर्नु परे पनि गोली चल्नुमा मेरो भूमिका छैन
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको गोलीकाण्डका लागि आफू जिम्मेवार नठहरिने दावी गरेका छन् । सर्वोच्च अदालतमा दायर रिट निवेदनमा लिखित जवाफ बुझाउँदै उनले विषम परिस्थितिका कारण बल प्रयोग गर्नुपरेको दाबी गर्दै त्यसमा आफ्नो प्रत्यक्ष भूमिका नरहेको उल्लेख गरेका छन् ।
लेखकले जेनजी आन्दोलन शान्तिपूर्ण हुने विश्वासका आधारमा सुरक्षा तयारी मिलाइएको बताएका छन् । तर बानेश्वरस्थित संसद् भवन अगाडि घुसपैठ गरी उत्कट, हिंसात्मक र विध्वंसात्मक गतिविधि भड्किएपछि घटना नियन्त्रण बाहिर पुगेको उनको भनाइ छ । २१ जनाको ज्यान जाने जस्तो दुःखद घटनाले आफू अत्यन्त पीडित भएको उल्लेख गर्दै लेखकले त्यही दिन नैतिकताका आधारमा राजीनामा दिएको दाबी गरेका छन् ।
लिखित जवाफमा उनले भनेका छन्, ‘राजीनामा दिएर पदीय जिम्मेवारीबाट मुक्त भइसकेकाले भोलिपल्ट भदौ २४ गते भएको घटनामा मलाई दोषारोपण गर्न मिल्दैन ।’ उनले भदौ २२ गते बेलुका बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले समेत आन्दोलन शान्तिपूर्ण रहने विश्वास व्यक्त गरेको र आफूले कम बल प्रयोग गर्ने, हताहत हुन नदिन निर्देशनसमेत दिएको उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकारसम्बन्धी प्रश्नमा भने उनले तटस्थता अपनाएको बताए । सर्वोच्च अदालतले संविधानको व्याख्या र विश्लेषण गर्दै त्यसबारे अन्तिम निर्णय गर्ने भएकाले आफूले प्रतिवाद नगरेको उनको भनाइ छ ।
