`

प्रदर्शनकारीबाट जोगाउँदा अक्सिजन टुट्यो, केही दिनमै आमा दिवंगत हुनुभयो : लेखक

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले देशलाई मात्र होइन, आफ्नो व्यक्तिगत जीवनलाई पनि गहिरो चोट पुर्‍याएको पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन् । सोमबार भदौ २२ र २३ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष लिखित बयान दिँदै लेखकले आन्दोलनका कारण आफूले भोग्नुपरेको मानवीय, भौतिक र भावनात्मक क्षतिबारे विस्तृत जानकारी गराएका हुन् ।

लेखकका अनुसार महेन्द्रनगरका दुईवटा र काठमाडौंको एक घर आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको छ । ती घरहरू आफूले कमाएको सम्पत्तिबाट नभई पिता–पुर्खाबाट प्राप्त पैतृक सम्पत्तिबाट निर्माण गरिएको उनले स्पष्ट पारे । ‘पिता पुर्खाको सम्पत्ति खरानी बनाइ दिँदाको पीडा खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ भन्ने उखान जस्तै भएको छ,’ लेखकले बयानमा उल्लेख गरेका छन् ।

सबैभन्दा पीडादायी घटनाका रूपमा लेखकले आफ्नी वृद्ध आमाको निधनलाई उल्लेख गरेका छन् । भाद्र २४ गते आन्दोलनका क्रममा भएको आक्रमणबाट जोगाउने क्रममा अक्सिजनमा आश्रित, सिकिस्त बिरामी आमालाई लामो समय अक्सिजन बिना राखेर अस्पताल पु¥याउनु परेको र त्यसको केही दिनमै आमाको निधन भएको उनले बताएका छन् । उनका अनुसार आन्दोलनको हिंसात्मक अवस्थाले उपचारमा बाधा पु¥याउँदा परिवारले अपूरणीय क्षति व्यहोर्नु परेको हो ।

आन्दोलनका क्रममा लेखकको निजी निवासमा आगलागी हुँदा करिब पाँच हजार पुस्तक तथा महत्वपूर्ण ऐतिहासिक दस्तावेज जलेर नष्ट भएको जानकारी पनि उनले आयोगलाई गराएका छन् । ती दस्तावेजमा दश वर्षे सशस्त्र द्वन्द्वपछि तत्कालीन सात दल र माओवादीबीच भएको शान्ति वार्ता, अन्तरिम संविधान, वर्तमान संविधान निर्माण प्रक्रियासँग सम्बन्धित औपचारिक तथा अनौपचारिक वार्ता, संवाद, छलफल र सहमतिका टिपोट तथा संकलनहरू रहेको उनले बताएका छन् । ‘यस्ता दस्तावेज व्यक्तिगत मात्र होइन, राष्ट्रकै ऐतिहासिक सम्पत्ति थिए,’ लेखकको भनाइ छ ।

लेखकले आफूलाई संविधानविपरित काठमाडौं उपत्यकाभित्र स्थानहद तोकिएको र राहदानी समेत रोक्का गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । आयोगको सिफारिसमा नेपाल सरकारले तीन महिना अघि यस्तो निर्णय गरेको कुरा आफूले सञ्चार माध्यमबाट मात्र थाहा पाएको भन्दै उनले कुनै लिखित वा मौखिक जानकारी नदिइएको बताए ।

‘कुन कानुनी व्यवस्था अनुसार, के प्रयोजनका लागि, कति अवधिका लागि स्थानहद र राहदानी रोक्का गरिएको हो भन्नेबारे मलाई सोध्ने वा जवाफ दिने मौका नै दिइएन,’ उनले भने । यस्तो प्रक्रिया विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्तविपरित भएको उनको ठहर छ । पूर्व गृहमन्त्री लेखकले जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको र त्यसका लागि कानुनी व्यवस्था नै नरहेको स्पष्ट पारेका छन् । आन्दोलनका क्रममा आफ्नै निजी सम्पत्तिमा समेत आगजनी भएको उल्लेख गर्दै उनले आफू व्यक्तिगत पीडाभन्दा मुलुकले व्यहोरेको क्षतिप्रति बढी चिन्तित रहेको बताए । ‘सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई मैले गौण ठानेको छु,’ लेखकले बयानको अन्त्यमा उल्लेख गरेका छन् ।

 

 

 

आन्दोलनमा बल प्रयोगको निर्देशन गृहमन्त्रीले दिने कानूनी अधिकार छैन : रमेश लेखक

काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको बताएका छन् । जाँचबुझ आयोगमा वयान दिए लगत्तै काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनले कुनै पनि आन्दोलनको क्रममा प्रधानमन्त्री वा मन्त्रीले सुरक्षा निकायलाई कति र कसरी बल प्रयोग गर्ने ? भन्ने आदेश दिने कुनै संवैधानिक वा कानूनी व्यवस्था नभएको उल्लेख गरे । उनले आन्दोलनको क्रममा हाताहाती भइसकेपछि राजनीतिमा नैतिकतालाई सर्वोच्च मूल्य मानेर गृहमन्त्रीबाट राजीनामा दिएको दाबी पनि गरे । उनले आफूले २२ भदौमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकमा समग्र सुरक्षा अवस्थाबारे सुरक्षा निकयका प्रमुखहरुलाई दिशानिर्देश मात्रै दिएको दाबी गर्दै त्यसलाई बल प्रयोगको आदेशका रूपमा व्याख्या गर्नु गलत भएको पनि बताए । उनले आन्दोलनको क्रममा बल कति र कसरी गर्ने भन्ने विषयमा स्थानीय प्रशासन र फिल्डमा खटिएका सुरक्षाकर्मीले तत्कालीन वस्तुस्थितिको आधारमा गर्ने उनको जिकिर छ ।

उनले भने, ‘राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान विषय हो भन्ने मेरो विश्वास रहेको छ । त्यसै कारण नैतिकताका आधारमा राजीनामा दिएको हो । अन्यथा यस्ता प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्ने बारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ। गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन । त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन ।’

उनले भने, ‘सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने विषयको न त कानूनी जिम्मेवारी छ, न त यसबारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिनेकुरा हुन्छ । न त त्यस्तो कुनै आदेश नै दिइएको थियो । गृहमन्त्रीले उपलब्ध सूचनाका आधारमा समग्रमा दिशानिर्देश गर्ने हो, जुन मैले २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गरेको थिए । प्रधानमन्त्री वा मन्त्रीले कसैलाई यति बल प्रयोग गर, यसरी गर भन्ने कुरा पनि होइन । प्रदर्शनका बेला शान्ति सुरक्षा कायम गर्ने क्रममा कहाँनेर के अवस्था र आवश्यकता पर्छ, प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने बिषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिती तथा वस्तुगत आधारमा विश्लेषण गरि निर्धारण गर्ने हो । यस सम्बन्धि प्रष्ट कानूनी व्यवस्था र आधार पनि छन् ।’
उनले जेन–जी आन्दोलनका मागहरु जायज भए पनि आन्दोलनमा घुसपैठ हुँदा मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको प्रति दुःख व्यक्त गरे ।

 

यस्तो छ लेखकले जाँचबुझ आयोगमा दिएको लिखित बयान (पूर्णपाठ)

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएका घटनालाई मुलुक र लोकतन्त्रविरुद्ध लक्षित, नियोजित र सुनियोजित आक्रमणको रूपमा व्याख्या गरेका छन् । जेन–जी आन्दोलन जाँचबुझ आयोगसमक्ष पेश गरेको ६ पृष्ठ लामो लिखित बयानमा उनले भदौ २३–२४ गतेको घटनामा शान्तिपूर्ण आन्दोलन घुसपैठका कारण हिंसात्मक बनेको दाबी गरेका हुन् ।

लेखकका अनुसार सुशासनका लागि भन्दै जेन–जी समूहले सुरु गरेको आन्दोलन शान्तिपूर्ण रहने अपेक्षा गरिएको थियो । आन्दोलनकारीका मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले त्यसलाई ‘हाइज्याक’ गरी हिंसा भड्काएको उनको भनाइ छ । उनले भनेका छन् कि आन्दोलनको आवरणमा राज्यका संवेदनशील संरचनामाथि आक्रमण हुनु सामान्य विरोध प्रदर्शनको दायराभन्दा बाहिरको विषय हो । तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक बोलाई सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएको लेखकले बताएका छन् । उक्त बैठकमा कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन, संयमता अपनाउन र शान्ति सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको उनको भनाइ छ ।

लेखकले आफ्नो बयानमा भनेका छन्, ‘मैले बल प्रयोग गर्ने वा कसैको ज्यान लिने कुनै लिखित वा मौखिक आदेश दिएको छैन । कानुनले पनि गृहमन्त्रीलाई त्यस्तो अधिकार दिँदैन ।’ उनले भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख अङ्गहरूमाथि भएका आक्रमणहरू कुनै पनि देशभक्त नेपालीले कल्पना गर्न नसक्ने खालका भएको टिप्पणी गरेका छन् । आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै लेखकले त्यसको नैतिक जिम्मेवारी स्वीकार गर्दै आफूले राजीनामा दिएको पनि प्रष्ट पारेका छन् ।

यसैबीच, जेन–जी आन्दोलन सुरु भएको दिन सुरक्षा निकायलाई दिएको निर्देशनबारे पनि लेखकले आयोग समक्ष विस्तृत जानकारी गराएका छन् । उनका अनुसार केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले तीन वटा मुख्य निर्देशन दिएका थिए । पहिलो निर्देशनमा उनले आन्दोलनमा सहभागी वा अन्य कसैको ज्यान जाने अवस्था आउन नदिन विशेष सतर्कता अपनाउन भनेका थिए । ‘कुनै हताहति नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् भन्नेमा सचेत रहनुहोला’, उनले निर्देशन दिएको बताएका छन् ।

दोस्रो निर्देशन शान्ति सुरक्षाको समुचित व्यवस्थापनसँग सम्बन्धित थियो । समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था मिलाउन उनले सुरक्षा निकायलाई आग्रह गरेका थिए । तेस्रो निर्देशन भने आन्दोलनमा सम्भावित घुसपैठप्रति केन्द्रित थियो । जेन–जी आन्दोलन कुनै राजनीतिक दलको औपचारिक प्रदर्शन नभएकाले नेतृत्वविहीन हुनसक्ने र त्यसमा घुसपैठको जोखिम रहने भन्दै सतर्कता अपनाउन उनले निर्देशन दिएको बयानमा उल्लेख छ । लेखकका अनुसार सुरक्षा निकायलाई दिएको निर्देशनको सार मानवीय क्षति रोक्ने, शान्ति सुरक्षा कायम गर्ने र घुसपैठ नियन्त्रण गर्नेमा सीमित थियो । आयोगले उनको बयानलाई घटनाको समग्र मूल्याङ्कनका लागि महत्वपूर्ण आधारका रूपमा लिएको छ ।

पूर्णपाठ

 

 

पूर्व गृहमन्त्री लेखक बयानका लागि पुगे जाँचबुझ आयोग

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा पुगेका छन् । आज (सोमबार) मध्याह्न पूर्व गृहमन्त्री लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् । आयोगले गत साता बयानका लागि पत्र पठाएको थियो । जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । त्यतिवेला लेखक गृहमन्त्री थिए भने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओलीसँग पनि जाँचबुझ आयोगले बयान लिने भएको छ । बयान लगतै लेखकले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

पूर्व गृहमन्त्री लेखकको दावी : आन्दोलनमा बल प्रयोग गर्नु परे पनि गोली चल्नुमा मेरो भूमिका छैन

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको गोलीकाण्डका लागि आफू जिम्मेवार नठहरिने दावी गरेका छन् । सर्वोच्च अदालतमा दायर रिट निवेदनमा लिखित जवाफ बुझाउँदै उनले विषम परिस्थितिका कारण बल प्रयोग गर्नुपरेको दाबी गर्दै त्यसमा आफ्नो प्रत्यक्ष भूमिका नरहेको उल्लेख गरेका छन् ।

लेखकले जेनजी आन्दोलन शान्तिपूर्ण हुने विश्वासका आधारमा सुरक्षा तयारी मिलाइएको बताएका छन् । तर बानेश्वरस्थित संसद् भवन अगाडि घुसपैठ गरी उत्कट, हिंसात्मक र विध्वंसात्मक गतिविधि भड्किएपछि घटना नियन्त्रण बाहिर पुगेको उनको भनाइ छ । २१ जनाको ज्यान जाने जस्तो दुःखद घटनाले आफू अत्यन्त पीडित भएको उल्लेख गर्दै लेखकले त्यही दिन नैतिकताका आधारमा राजीनामा दिएको दाबी गरेका छन् ।

लिखित जवाफमा उनले भनेका छन्, ‘राजीनामा दिएर पदीय जिम्मेवारीबाट मुक्त भइसकेकाले भोलिपल्ट भदौ २४ गते भएको घटनामा मलाई दोषारोपण गर्न मिल्दैन ।’ उनले भदौ २२ गते बेलुका बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले समेत आन्दोलन शान्तिपूर्ण रहने विश्वास व्यक्त गरेको र आफूले कम बल प्रयोग गर्ने, हताहत हुन नदिन निर्देशनसमेत दिएको उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकारसम्बन्धी प्रश्नमा भने उनले तटस्थता अपनाएको बताए । सर्वोच्च अदालतले संविधानको व्याख्या र विश्लेषण गर्दै त्यसबारे अन्तिम निर्णय गर्ने भएकाले आफूले प्रतिवाद नगरेको उनको भनाइ छ ।

जेनजी आन्दोलनमा गोली हान्ने आदेश थिएन, उत्तेजना र प्रतिशोध भन्दा माथि उठौं : रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनप्रति सार्वजनिक आक्रोश बढिरहेका बेला तत्कालीन गृहमन्त्री रमेश लेखक पहिलो पटक सफाइसहित मिडियामा प्रस्तुत भएका छन् । उनले स्पष्ट पारे, ‘गोली चलाउन न प्रधानमन्त्रीले आदेश दिए, न मैले ।’ आज (शुक्रबार) सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा हिंसा भएको घटनालाई दुःखद भन्दै त्यसको जिम्मेवारी कसै एक पक्षमा थोपर्नु गलत हुने जिकिर गरे ।

‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश दिएको भनेर चर्चाहरू उठेका छन्’, लेखकले भने, ‘तर यस्ता कुनै आदेश दिइएको थिएन । यो प्रक्रिया गृहमन्त्री वा प्रधानमन्त्रीको निर्देशनबाट सञ्चालन हुने खालको थिएन ।’

‘घुसपैठको आरोप पुष्टि भयो’
लेखकले आन्दोलनमा हिंसा र तोडफोड भड्काउने कार्यमा घुसपैठ भएको दाबी पनि दोहो¥याए । ‘मैले मात्रै हैन, आयोजकहरूले नै त्यो बेला घुसपैठको विषय उठाएका थिए । पछि त्यो कुरा यथार्थमा पुष्टि पनि भयो’, उनले भने । उनका अनुसार, यही घुसपैठकै कारण आन्दोलनले अपेक्षित बाटो गुमाएको र हिंसात्मक मोड लिएको हो ।

‘उत्तेजनाभन्दा माथि उठौं’
आन्दोलनको पहिलो दिन नै गृहमन्त्रीबाट राजीनामा दिएका लेखकले अहिलेको समय प्रतिक्रियावादी शैलीले होइन, संयम र विवेकले काम लिनुपर्ने समय भएको बताए । ‘अहिले देशलाई आग्रह–पूर्वाग्रह र प्रतिशोधको राजनीति चाहिएको छैन’, लेखकले भने, ‘जेनजी पुस्ताले उठाएका मागलाई लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा बुझेर सम्बोधन गर्नु जरुरी छ ।’ उनले सबै राजनीतिक दलहरूलाई विधिको शासन र जिम्मेवार राजनैतिक व्यवहारप्रति प्रतिबद्ध हुन पनि आग्रह गरे ।

नेतृत्वको लचकता या छवी जोगाउने प्रयास ?
राजीनामा दिएका लेखकको पछिल्लो अभिव्यक्तिलाई कतिपयले आत्मसमीक्षा र संयमको सन्देशका रूपमा हेरेका छन् भने केहीले यसलाई ‘आफ्नो छवि जोगाउने प्रयास’ को रूपमा व्याख्या गरिरहेका छन् । विश्लेषकहरू भन्छन्, ‘लेखकले जुन बेला पद छोडे, त्यो समयमा नै सत्य कुरा खुलेको भए परिस्थिति फरक हुन सक्थ्यो । अहिले आएर दिने स्पष्टीकरणले आलोचना त कम गर्न सक्छ, तर जवाफदेहिताको गारो भने उस्तै रहन्छ ।’

जेनजीको मागप्रति समर्थन तर सावधानीपूर्वक
लेखकले जेनजी आन्दोलनको मागप्रति पूर्ण अस्वीकार नगरे पनि, सावधानीपूर्वक समर्थन व्यक्त गरे । ‘ती मागहरू लोकतान्त्रिक दायराभित्र रहेर सम्बोधन गर्नुपर्छ’, उनको भनाइ थियो । उनले सो आन्दोलनको भावनालाई बुझ्न र त्यसलाई मार्गदर्शन गर्न राजनीतिक नेतृत्व तयार हुनुपर्नेमा जोड दिए ।