`

यस्तो छ लेखकले जाँचबुझ आयोगमा दिएको लिखित बयान (पूर्णपाठ)

Nepal One HD १४ पुष २०८२ १५:३१
नेपाली कांग्रेस

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएका घटनालाई मुलुक र लोकतन्त्रविरुद्ध लक्षित, नियोजित र सुनियोजित आक्रमणको रूपमा व्याख्या गरेका छन् । जेन–जी आन्दोलन जाँचबुझ आयोगसमक्ष पेश गरेको ६ पृष्ठ लामो लिखित बयानमा उनले भदौ २३–२४ गतेको घटनामा शान्तिपूर्ण आन्दोलन घुसपैठका कारण हिंसात्मक बनेको दाबी गरेका हुन् ।

लेखकका अनुसार सुशासनका लागि भन्दै जेन–जी समूहले सुरु गरेको आन्दोलन शान्तिपूर्ण रहने अपेक्षा गरिएको थियो । आन्दोलनकारीका मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले त्यसलाई ‘हाइज्याक’ गरी हिंसा भड्काएको उनको भनाइ छ । उनले भनेका छन् कि आन्दोलनको आवरणमा राज्यका संवेदनशील संरचनामाथि आक्रमण हुनु सामान्य विरोध प्रदर्शनको दायराभन्दा बाहिरको विषय हो । तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक बोलाई सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएको लेखकले बताएका छन् । उक्त बैठकमा कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन, संयमता अपनाउन र शान्ति सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको उनको भनाइ छ ।

लेखकले आफ्नो बयानमा भनेका छन्, ‘मैले बल प्रयोग गर्ने वा कसैको ज्यान लिने कुनै लिखित वा मौखिक आदेश दिएको छैन । कानुनले पनि गृहमन्त्रीलाई त्यस्तो अधिकार दिँदैन ।’ उनले भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख अङ्गहरूमाथि भएका आक्रमणहरू कुनै पनि देशभक्त नेपालीले कल्पना गर्न नसक्ने खालका भएको टिप्पणी गरेका छन् । आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै लेखकले त्यसको नैतिक जिम्मेवारी स्वीकार गर्दै आफूले राजीनामा दिएको पनि प्रष्ट पारेका छन् ।

यसैबीच, जेन–जी आन्दोलन सुरु भएको दिन सुरक्षा निकायलाई दिएको निर्देशनबारे पनि लेखकले आयोग समक्ष विस्तृत जानकारी गराएका छन् । उनका अनुसार केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले तीन वटा मुख्य निर्देशन दिएका थिए । पहिलो निर्देशनमा उनले आन्दोलनमा सहभागी वा अन्य कसैको ज्यान जाने अवस्था आउन नदिन विशेष सतर्कता अपनाउन भनेका थिए । ‘कुनै हताहति नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् भन्नेमा सचेत रहनुहोला’, उनले निर्देशन दिएको बताएका छन् ।

दोस्रो निर्देशन शान्ति सुरक्षाको समुचित व्यवस्थापनसँग सम्बन्धित थियो । समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था मिलाउन उनले सुरक्षा निकायलाई आग्रह गरेका थिए । तेस्रो निर्देशन भने आन्दोलनमा सम्भावित घुसपैठप्रति केन्द्रित थियो । जेन–जी आन्दोलन कुनै राजनीतिक दलको औपचारिक प्रदर्शन नभएकाले नेतृत्वविहीन हुनसक्ने र त्यसमा घुसपैठको जोखिम रहने भन्दै सतर्कता अपनाउन उनले निर्देशन दिएको बयानमा उल्लेख छ । लेखकका अनुसार सुरक्षा निकायलाई दिएको निर्देशनको सार मानवीय क्षति रोक्ने, शान्ति सुरक्षा कायम गर्ने र घुसपैठ नियन्त्रण गर्नेमा सीमित थियो । आयोगले उनको बयानलाई घटनाको समग्र मूल्याङ्कनका लागि महत्वपूर्ण आधारका रूपमा लिएको छ ।

पूर्णपाठ

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *