सिंहदरबारको पश्चिम गेटमा जेन-जी घाइतेको धर्ना (तस्बिरहरू)
काठमाडौं। विभिन्न माग राखी अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा, प्रवेश पास नपाएपछि जेन-जी घाइतेहरू धर्ना बसेका छन् ।
आइतबार ९ बजेबाट कुरी बसेका जेन-जी घाइते सिंहदरबारमा प्रवेश गर्न नपाएपछि पश्चिम गेटमा धर्ना बसेका हुन् ।
उनीहरूले रिलायन्स स्पीनिग मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्कासित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्का गरी, नेपाल धितो पत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गर्न माग गर्दै धर्ना बसिरहेका छन् ।
यस्तो छ उनीहरूको माग पत्र :
विषय : रिलायन्स स्पीनिग मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्कासित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्का गरी, नेपाल धितो पत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गरी पाउँ भन्ने मागहरू राखेर धर्ना बसिरहेका छन् ।
महोदय,
उपयुक्त सम्बन्धमा पुँजी बजार क्षेत्र देशको आर्थिक विकासमा अहम् भूमिका निर्वाह गर्ने क्षेत्र रहेको तर यस क्षेत्रको विकास, विस्तार, आधुनिकीकरण र सुधारमा सरकारको उचित ध्यान नपुगेको कारणले, समय समयमा यस क्षेत्रमा व्याप्त अनियमितता र भ्रष्टाचार लगायतका घटनाहरूको भिडियो तथा लिखित सामाग्री नेपालका राष्ट्रिय दैनिक अनलाइन तथा पत्रिकाहरूमा सार्वजनिक भइरहेको र यसै क्रममा हाल चर्चामा रहेको रिलायन्स स्पीनिङ्ग मिल्सको प्रारम्भिक सार्वजनिक निष्कासन पनि अनियमितताको उच्च उदाहरणको रूपमा चर्चामा रहेको र यस घोटालामा नेपाल धितो पत्र बोर्ड, अर्थ मन्त्रालयका कर्मचारीहरू कम्पनी, नेप्से, क्रेडिट रेटिङ एजेंसी, लेखापरीक्षक, कम्पनी रजिष्ट्रारको कार्यालय, योग्य संस्थागत लगानीकर्ता, नेपाल धितो पत्र बोर्डका सञ्चालकहरूको मिलेमतो देखिएकी र नेपाल धितो पत्र बोर्डका पूर्व अध्यक्षहरू भीष्मराज ढुङ्गाना र रमेशकुमार हमाल, कार्यवाहक अध्यक्षहरू नरेन्द्र राजा र महेश बरालका कामकारबाही विवादास्पद रहेकी र हालका अध्यक्ष पनि विवादমা रहेकोले, यस क्षेत्रमा संलग्न ७३ लाख लगानीकर्ता, भ्रष्टाचार विरुद्धको लडाइँमा सहिद भएका ७८ जना Gen-Z युवाहरू, Gen-Z घाइते युवाहरू, नेपाली नागरिकहरूको हितको रक्षाको लागि देशको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा उन्नत बनाउन उपयुक्त कदम चल्न र उक्त क्षेत्रमा व्याप्त भ्रष्टाचार निर्मूल गर्नका लागि आवश्यक कदम चाल्न संयुक्त Gen-Z सायम् बाध्य पारिएको छ । त्यस कारण नेपाल धितो पत्र बोर्डका अध्यक्षको तत्काल राजीनामाको माग गर्दै यस्तो प्रकारका क्रियाकलापहरूमा लगाम नलगाइएमा, नेपालको आर्थिक क्षेत्र खैरो सूचीबाट कालो सूचीमा जान सक्ने ब्यहोरा पनि जानकारी गराउँछौँ ।
मागहरू :
१) रिलायन्स स्पीनिङ्गन् मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि निष्कासित आईपीऔ बाडफाँड प्रक्रियालाई तत्काल रोक्नुपर्ने ।
२) निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल धितो पत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नु पर्ने ।
३) बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नु पर्ने ।
४) भ्रष्टाचारमा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने।



