`

पतञ्जली जग्गा प्रकरण : माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

Nepal One HD २९ मंसिर २०८२ १२:१३
प्रमुख खबर

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दाको सुनुवाइ सोमबार विशेष अदालतमा हुने भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा उक्त मुद्दा पेश हुने तय भएको हो । अदालतको कार्यसूचीअनुसार नेपालसम्बन्धी मुद्दा तेस्रो नम्बरमा राखिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आरोपअनुसार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकको साँगामा रहेको हदबन्दी छुटको जग्गा पतञ्जलीले खरिद गर्न पाउने निर्णय गरेको थियो । त्यति मात्र होइन, उक्त जग्गा पछि बिक्री गर्न समेत अनुमति दिइएको विषयलाई अख्तियारले गैरकानुनी र भ्रष्टाचारजन्य कार्य ठहर गरेको छ ।

अभियोगपत्रमा उल्लेख भएअनुसार २०६६ माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले पतञ्जलीलाई ८१५ रोपनी जग्गा हदबन्दी छुटअन्तर्गत खरिद गर्न स्वीकृति दिएको थियो । त्यसपछि २०६६ चैत ६ गते पुनः मन्त्रिपरिषद् बैठकबाट सोही जग्गा बिक्री गर्न पाउने निर्णय गरियो । सरकारको यस्तो निर्णयका कारण राज्यलाई हानि पुगेको र नीतिगत आवरणमा भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

अख्तियारले माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यसअघि मुद्दाको प्रारम्भिक सुनुवाइपछि विशेष अदालतले असार ११ गते नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अब नियमित सुनुवाइको क्रममा अदालतले अभियोग, प्रमाण र प्रतिवादी पक्षका तर्कहरू सुन्नेछ । यो मुद्दालाई उच्च राजनीतिक तहसँग जोडिएको ठूला भ्रष्टाचार प्रकरणका रूपमा हेरिएको छ, जसको फैसलाले राजनीतिक र कानुनी दुवै क्षेत्रमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *