मिराज समूहको प्रदर्शन रोक्ने प्रहरीकाे तयारी, अनुमति नलिएको प्रशासनको दावी
काठमाडौँ । जेनजी अगुवा मिराज ढुंगानाको नेतृत्वमा आज माइतीघर मण्डलामा आयोजना गर्ने भनिएको प्रदर्शनलाई लिएर प्रहरी प्रशासन सतर्क बनेको छ । जिल्ला प्रशासन कार्यालयबाट औपचारिक अनुमति नलिइएको भन्दै प्रहरीले प्रदर्शन अघि बढ्न नदिने तयारी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बिहान ११ बजेदेखि माइतीघर मण्डलामा भेला हुने घोषणा गरिएको कार्यक्रमका लागि प्रशासनिक अनुमति अनिवार्य हुने बताए । अनुमति नलिइएकाले प्रदर्शन स्थलतर्फ अगाडि बढ्न नदिइने उनको भनाइ छ । उनले प्रदर्शनकारी आएर त्यहीँ बस्ने कार्यक्रम मात्रै भए पनि कानुनी रूपमा अनुमति लिनुपर्ने स्पष्ट पारे ।
यता, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पनि मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि हालसम्म कुनै अनुमति नलिएको पुष्टि गरेका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत शान्तिपूर्ण आन्दोलनको घोषणा गरिएको भए पनि जिल्ला प्रशासन कार्यालयमा औपचारिक जानकारी र निवेदन नआएको उनले बताए । जेन्जी अगुवा ढुंगानाको समूहले १० बुँदे मागसहित आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । उनीहरूले युवाको भावना र चाहनाअनुसार सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि सडक आन्दोलनमा उत्रिने बताएका थिए । ढुंगानाले विगतमा भएको आन्दोलनको मर्मअनुसार परिणाम नआएकाले पुनः सडक संघर्षमा जानु परेको दाबी गरेका छन् ।
उनका अनुसार आन्दोलनका प्रमुख मागमा विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति, राज्यको पुनः संरचना, राजनीतिक स्थिरता, निष्पक्ष न्याय, संविधान पुनर्लेखनसहित संवैधानिक सुधार, पक्राउ परेका जेन्जी अभियन्ताको तत्काल रिहाइ तथा आन्दोलनका क्रममा युवाको हत्यामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही समावेश छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले वर्तमान सरकार जेन्जी आन्दोलनको भावना अनुरूप चल्न नसकेको आरोप लगाउँदै सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग समेत अघि सारेका थिए ।
उनले देशलाई शान्ति, स्थायित्व र न्याय दिन सक्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै सरकारको १०० दिनको कार्यकालले आन्दोलनको मर्म नबोकेको टिप्पणी गरेका थिए । आज माइतीघरमा भेला हुने आह्वानसँगै सम्भावित भीडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । अनुमति नलिइएको प्रदर्शनका कारण तनावको अवस्था सिर्जना हुन नदिन प्रहरी प्रशासनले आवश्यक तयारी गरेको जनाएको छ ।
यस्ता छन् ढुंगानाको समूहले राखेका माग :
–संवैधानिक सुधार र संविधान पुनर्लेखनः राज्यको पुनःसंरचना र राजनीतिक स्थिरताका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी संविधान पुनर्लेखन गर्नुपर्ने ।
–न्यायिक सुधारः भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली ’भ्रष्टाचार निर्मूल आयोग’ गठन र अदालतका फैसलाहरूको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउनु पर्ने ।
–आन्दोलनकारीको रिहाइ र न्यायः अघिल्लो आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष युवाहरूको तत्काल रिहाइ, घाइतेहरूको उपचार तथा शहीद परिवारका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी ।
–मताधिकार र एनआरएन नीतिः विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्दै ’एक पटकको नेपाली, सधैँको नेपाली’ नीतिलाई व्यवहारमा उतार्नु पर्ने ।
–पीडितको न्यायः मिटरब्याज, सहकारी, लघुवित्त र उखु किसानका समस्या समाधान गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था ।
